कोभिड-१९

प्रदेश १: अक्‍सिजन पर्याप्त, बेड अभाव

अक्सिजन पर्याप्त उत्पादन, अन्य प्रदेशका अस्पताललाई वितरण

अतिन आचार्य |
जेठ ३, २०७८ सोमबार १३:२६ बजे

काठमाडौँ : मुलुकभरका अधिकांश सरकारी अस्पतालमा रहेका संक्रमितले अक्सिजन र बेड पाएका छैनन् । काठमाडौँ उपत्यकामै संक्रमितले अक्सिजन र बेड नपाइ अस्पताल परिसरमा उपचार गराइरहेका छन् । केही भने अस्पताल परिसरमा अक्सिजन लगाइ उपचार गराइरहेका छन् ।

उपत्यकालगायत दुई नम्बर र कर्णाली प्रदेशमा अक्सिजनको अभाव भइरहँदा १ नम्बर प्रदेशमा अक्सिजन भए पनि संक्रमितका लागि बेड उपलब्ध हुने सकेको छैन । गम्भीर अवस्थाका संक्रमितले समेत बेड नपाउँदा उपचार नपाइ संक्रमितको ज्यान जाने जोखिम बढेको छ । अस्पतालमा बेड प्याक भएकाले फोन गरेर मात्र संक्रमित ल्याउन निर्देशन दिने गरेका छन् ।


जटिल अवस्थाका संक्रमितलाई उपचार गराउन लानुपर्ने अवस्था आएमा सहजै अस्पतालमा बेड उपलब्ध नहुने गरेको १ नम्बर प्रदेशका विभिन्न स्थानीय तहमा समस्या छ । प्रधानमन्त्री केपी शर्मा ओलीकै गृहजिल्‍ला झापाको दमक नगरपालिकामा समेत गम्भीर अवस्थाका बिरामी भए तत्कालै बेड पाउन सक्ने अवस्था छैन ।  

प्रदेश १ को अधिकांश जिल्लाका स्थानीय तहले आइसेलेसन सेन्‍टर बनाएका छन् । तर, गम्भीर संक्रमितले अस्पतालमा बेड पाउने अवस्था नरहेको नगरपालिका तथा स्थानीय तहका स्वास्थ्य प्रमुखले बताउँछन् ।

'बाहिरी जिल्लाका संक्रिमत उपचार गराउन आए'

दमक नगरपालिकामा कोभिड संक्रमितको संख्या ५ सयभन्दा बढी छ । एचडीयू र आइसोलेसन बेडसहित १ सय १९ बेड, तीन अस्पतालमा ७ भेन्टीलेटर र ५ आइसीयू छन् । नगरपालिकाका स्वास्थ्य विभागका उपप्रमुख नगेन्द्र भट्टराईकाअनुसार संक्रमितको अवस्था दिनप्रतिदिन बढ्दो अवस्थामा छ । कूल पीसीआर परीक्षणको ५८ प्रतिशतमा संक्रमण देखिएको उनले बताए ।

'गम्भीर अवस्थामा संक्रमितले अस्पतालमा बेड पाउन समस्या भइसकेको छ,' उनले भने,' नगरपालिका भित्रका मानिसलाई उपचार गर्नुपरेमा समस्या हुँदैन थियो । बाहिरी जिल्लाबाट समेत उपचार गराउन आएकाले समस्या भएको हो ।'

रुपन्देही र छिमेकी जिल्ला मोरङ्ग उर्लाबारी र मधुमल्ला तथा गौरादह नपाका संक्रमित उपचार गर्न यता आएकाले बेड अभाव भएको भट्टराईले जानकारी दिए । उनका अनुसार झापा बाहिरका मात्र ३९ संक्रमित उपचार गराइरहेका छन् ।

'उपचार गर्न आउनलाई यता नआइज भन्न नसक्ने अवस्था छ,' उनले थपे,' आफ्‍नै नगरबासीको अवस्था गाह्रो भयो भने बेड नपाइने हो जटिल अवस्था सिर्जना हुन सक्छ । ' अहिलेसम्म नगरपालिकाको व्यवस्थापनले धान्न सकेको र आउने दिनमा कस्तो हुने हो भन्न नसकिने उनको भनाइ छ ।

मोरङ्‍को बेलबारी नगरपालिकामा पनि दमकको जस्तै समस्या छ । बेलबारी पूर्व स्वास्थ्य मन्त्री तथा संस्कृति, पर्यटन तथा नागरिक मन्त्री भानुभक्त ढकालको निर्वाचरन क्षेत्रमा पर्छ । कोभिड संक्रमणको पहिलो चरणमा उनी स्वास्थ्य मन्त्री थिए ।

गम्भीर अवस्थाका संक्रमितलाई उपचार गर्न अस्पतालमा लानुपर्दा बेड नपाउने समस्या रहेको नगरपालिका स्वास्थ्य प्रमुख सन्तोष विश्‍वकर्मा बताउँछन् । 'अस्पतालमा फोन गरेर मात्र संक्रमित ल्याउनु भन्छन् तर फोन गर्दा समेत बेड पाइदैन,' उनले भने ।

जिल्लाका सबै अस्पतालका बेडहरू प्याक छन् । विराटनगरको कोशी, नोबल अस्पताल र विराट मेडिकल कलेजमा उपचार हुने गरेको छ । सुरुमा अस्पतालमा बेड छ छैन् भनेर सोधेपछि नाम टिपेर राख्‍ने गरेको र खाली भएपछि अस्पतालले आफैँ सम्पर्क गर्ने गरेको विश्‍वकर्माले बताए ।

'संक्रमितको चाप बढ्यो, व्यवस्थापनमा लागेका छौ '

प्रदेश १ सरकारी अस्पतालमा बेडको क्षमता बिस्तार गरिरहेको स्वास्थ्य निर्देशनालयका प्रमुख ज्ञान बहादुर बस्नेतले बताए । उनकाअनुसार विराटनगरको कोशी र झापाको मेची अस्पतालामा बेडको बिस्तार भइरहेका छन् ।  कोशी अस्पतालमा थपिएको बेड चाँडै सञ्चालनमा आउने उनले जानकारी दिए ।

'संक्रमितको चाप बढिरहेकाले व्यवस्थापन गर्न गाह्रो भइरहेको छ,' बस्‍नेतले भने,' विराटनगरको नोबेल अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेडको संख्या बढाउन प्रदेश सरकारले पहल गरिरहेको छ ।'

संक्रमितका लागि चाहिने अतिआवश्य वस्तु उपलब्ध भए पनि बेडकै मुख्य समस्या रहेको उनले स्वीकार्छन् । स्थानीय तहले बनाएका आइसोलेसनमा संक्रमितलाई राख्‍दा तत्कालै संक्रमित गम्भीर भएमा उपचार गर्न गाह्रो हुने उनले बताए ।

अक्सिजन छ, बेड छैन

कोभिड अस्पतालमा अक्सिजनको समस्या नभए पनि संक्रिमते बेड पर्खेर उपचार पाउनुपर्ने अवस्था रहेको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला बताउँछन् । संक्रमितका लागि बेड अभाव भएपछि संघीय सरकारको मातहतमा रहेको कोशी अस्पतामा बेड थप्न लागेको उनले बताए ।

'जिल्लाका सबै निजी तथा सरकारी कोभिड अस्पतालमा बेडको कस्तो अवस्था छ भनेर अनुगमन गरिरहेका छौ,' उनले भने,' बेडको अभाव छ तर अक्सिजनको अभाव छैन । यहाँबाट उत्पादन भएका अक्सिजन बाहिरी जिल्लाम पनि पठाउने गरेका छौं ।'

डडेलधुरा, भैरहवा जस्ता र दुई नम्बर प्रदेशका जिल्लामा अक्सिजन पठाउने गरेको निरौलाको भनाइ छ । मारुती, विनायक र पाथिभराको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन हुने भएकाले विराटनगरमा ठूला कोभिड अस्पतालमा अक्सिजनको अभाव नभएको उनले बताए ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x