कोभिड-१९

'सरकारले पहल गरे कोभ्याक्स पाउन सकिने'

इकागज |
जेठ १२, २०७८ बुधबार २१:० बजे

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले कोभिड-१९ विरुद्धको कोभ्याक्स कार्यक्रम अन्तर्गत खोप ल्याउन सरकारले तत्काल पहल गरे मात्र सम्भव हुने बताए । भारतको सिरम इन्स्च्युटबाट उत्पादित 'कोभिसिल्ड' खोप आयात कटौती भएपछि उनले यस्तो बताएका हुन् ।    

भारतले कोभिड संक्रमितको संख्या तीव्र रूपमा फैलिएपछि सिरमले उत्पादन गरेको खोप उपलब्ध गराउन नसक्ने बताएको थियो । भारतले 'कोभिसिल्ड' खोप उपलब्ध गराउन नसक्ने भएपछि कोभ्याक्स अन्तर्गत नेपालले अन्य कम्पनीको खोप प्रयोग गर्नुपर्ने भएको छ ।


कोभ्याक्स कार्यक्रम अन्तर्गत मोर्डनाको खोप, नोभोभ्याक्स, फाइजर, स्पुतनिक भी जोनसन एण्ड जोनसन, बेलायतको अस्ट्राजेनिका खोप समावेश छ । बेलायतले खोप दिएमा कोभिसिल्ड खोप बराबर काम गर्ने उनको दाबी छ ।

भारतले २०२१ सम्ममा कोभ्याक्स खोप कार्यक्रमका लागि खोप निर्यात नगर्ने भएकाले अन्य कम्पनीको खोप प्रयोग गर्नुपर्ने भएको डा. उप्रतीको भनाइ छ । 'योसँगै विभिन्न मुलुकमा निर्माणका भएका खोपहरू नेपालमा प्रयोग गर्नुपर्ने भएको छ,' डा. उप्रेतीले भने ।

कोभ्याक्स कार्यक्रम अन्तर्गत अन्य मुलुकबाट निर्माण भएका खोपको आयात गर्न पनि सरकारले पहल गर्नुपर्ने डा. उप्रेतीले बताए । फाइजरको खोप नेपालका लागि उपयुक्त नहुने उनको भनाइ छ । कम तापक्रममा राख्‍नुपर्ने भएकाले फाइजरको खोप उपयुक्त नहुने उनको तर्क ।

कोभ्याक्स कार्यक्रमबाट ९२ मुलुकले खोप पाउने व्यवस्था रहेको उनको भनाइ छ । त्यसमध्ये नेपाल पनि एक राष्ट्र हो । हालसम्म कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपालमाल ३ लाख ४८ हजार डोज खोप आएको उप्रेतीले जानकारी दिए । कोभ्याक्स अन्तर्गत एक करोड ३० लाख डोज खोप पाउनुपर्नेछ ।

 


Author

थप समाचार
x