कोभिड-१९

'बिरामीको सेवा गर्न डाक्टर बन्यौँ, अस्पतालमा सुरक्षित छैनौँ'

'डरले बिरामीलाई हेर्न मन छैन'

अतिन आचार्य |
जेठ १४, २०७८ शुक्रबार १९:१६ बजे

काठमाडौँ : बिहीबार राति भेरी अस्पतालको बेड नम्बर १३ मा दाङ, तुलसीपुरका कोभिड-१९ संक्रमित (५२) डिल्ली रावतको मृत्यु भयो । बेड १३ का बिरामीको जब मृत्यु भएको खबर बाहिरियो तब अस्पतालको माहोल शान्त र सौम्य नबनेर युद्धस्थल जस्तो बन्यो ।

पहिलो लहरको कोभिड सुरु भएपछि डा. चन्द्रपकाश साहूको दैनिकी अस्पतालमै बित्‍ने गरेको छ । अस्पतालले करार (अस्थायी)मा उनलाई नियुक्त गरेको १४ महिना भयो । यतिका समय सेवा गरिसक्दा हिजोको जस्तो कहालीलाग्दो घटना यसभन्दा अघि कहिले देखेका थिएनन् ।


उपचाररत संक्रमित डिल्लीराज रावतको दिनप्रितिदन स्वास्थ्य अवस्था गम्भीर हुँदै गइरहेको थियो । 'अस्पतालमा आएदेखि उनको अवस्था गम्भीर हुँदै गइरहेको थियो,' साहूले भने । उनलाई ल्याउनसाथ अस्पातलले उनका लागि आइसीयू (सघन उपचार कक्ष) उपलब्ध गराउन सकेन । खाली भएपछि उनको अवस्था गम्भीर भएकाले आइसीयूमा राखी उपचार सुरु गरिएको थियो ।

अस्पतालले आइसीयूमा पनि राखी उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नभएपछि रावतलाई भेन्टिलेटरमा राखी उपचार गर्ने प्रयास गरेको थियो । भेन्टिलेटर सबै प्याक भएकाले उनलाई तत्कालै भेन्टिलेटरमा राख्‍न सकिएको थिएन ।

'बिरामीको आफन्तले धम्क्याइरहन्थे'

संक्रमितको संख्या ह्वात्तै बढेर अस्पताल भर्ना हुने बिरामीको चाप बढेपछि अहिले आइसीयूदेखि जनरल वार्डसम्म बेड खाली हुन कि त बिरामी निको भएर डिस्चार्ज हुनुपर्छ । कतिपयको त उपचारका क्रममा दुःखद् निधन समेत हुने गरेको छ । यसरी उपलब्ध बेडहरूमा चिकित्सकहरूले बिरामीको अवस्था हेरेर आवश्यक उपचार सेवा दिदैं आएका छन् । उपचार गराइरहेको संक्रमितको मृत्यु भएपछि उनलाई भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । रावतको आफन्तले भेन्टिलेटरमा राख्‍न दबाब दिएका थिए ।

'बिरामीलाई केही भएमा नराम्रो हुने भन्दै दुई दिन अघिदेखि धम्की दिएका थिए,'डा. साहूले भने,' संक्रिमतलाई भेन्टिलेटरमा राख्दा पनि स्वास्थ्यमा सुधार भएन । अक्सिजन लेभल एकदमै कम थियो । अक्सिजन ६०- ७० प्रतिशत थियो ।'

मृतकका आफन्तले जब भेन्टिलेटरमा राखी उपचार सुरु गरे तब उनीहरूले धम्की दिन सुरु गरे । भेन्टिलेटरबाट अब उसलाई निकाली अक्सिजन र औषधिले मात्र उपचार गर्न र जसरी पनि बचाउनु भनेर बारम्बार धम्की दिइरहेका थिए ।

करिब ८ बजेतिर रावतको मृत्यु भयो । उनको मृत्यु भएपछि अस्पतालले आफन्तलाई खबर गर्‍यो । मृतककका आफन्त कोभिड वार्डमा छिरेर नर्समाथि आक्रमण गर्न सुरु गरेको उनले बताए । हाम्रो मान्छे मार्ने यिनै हुन भन्दै नर्समाथि आक्रमण सुरु गर्न थालेको डा. साहू बताउँछन् ।

नर्समाथि आक्रमण हुँदा उनी संक्रमितको उपचारमा व्यस्त थिए । अस्पतालमा भएका सबै कुर्सीहरू तोडफोड गर्न थालेपछि ज्यान बचाउन आइसीयूको क्याबिनमा छिरेको उनले बताए । आइसीयूको ढोका फोडी भित्र छिर्न खोजेपछि क्याबीनको शौचालयमा पसेर ज्यान बचाएको उनी बताउँछन् ।

१५ मिनेट शौचालयमा बस्दा सबै सपना विलिन 

'क्याबिनको ट्वाइलेटमा १५ मिनेट बस्यौँ । यतिका वर्ष केही गर्छु भन्‍ने सपना पालेर बसेको थिए । त्यो सबै सपना त्यहीँ विलिन भयो,' उनले भने,' धेरै समय बिताएको जस्तो लागेर अन्तिममा ट्वाइलेटको झ्यालबाट हामफालेर ज्यान बचाँएका थियौ ।' उनीहरूले बालुवामाथि हामफालेका थिए । बालुवामाथि खुट्टा परेकाले उनलाई केही भएन तर सँगै हामफालेका नर्सको खुट्टा इट्टामा परेकाले मर्केको उनले बताए ।

उनलाई अस्पतालमा उपचाररत बिरामीलाई हेर्न जान मन लागेको छैन । हिजोको घट्ना उनको दिमागमा नाचिरहन्छ । छोडेर जाउँ राज्यलाई संकटमा असहयोग गरे जस्तो उपचार गरौँ कतिखेर आक्रमणमा परिने हो त्रासले उनलाई सताइरहन्छ । महामारीमा संक्रमितलाई सुरक्षित राख्‍नुपर्नेछ । तर तिनैको उपचारमा संलग्न चिकित्सक अस्पताल परिसरमा र संक्रमितको आफन्तबाट सुरक्षित छैनन् ।

'डाक्टर बन्न धेरै खर्च लाग्छ। बिरामीको सेवा गर्न डाक्टर बने तर अस्पतालमा सुरक्षित छैनौँ,' इकागजसँगको संवादमा निराश हुँदै साहू भन्छन,' मेरो परिवारमा र चिने जानेको मानिसलाई अबदेखि डाक्टरी पढ्न सल्लाह सुझाव दिन्‍न।'

'नेपालगञ्‍ज मेडिकलबाट एमबीबीएस सके'

नेपालगञ्ज उपमहानगरपालिका १० का २६ वर्षीय साहू नेपालगञ्ज मेडिकलबाट एमबिबिएस सकेका थिए । कलेजबाट इन्टर्नसिप सक्नासाथ भेरीले स्वास्थ्यकर्मीको माग गरेकाले उनले त्यहाँ काम पाएका थिए ।

उनलाई कोभिड महामारी सुरु भएपछि परिवारबाट काम नगर्न दबाब आइरहेको थियो । अस्पतालमा हिजोको घटनाले परिवारमा झन तनाव बढेकाले फोन आएको आएको छ,' उनले भने । महामारीको समयमा स्वास्थ्यकर्मीको अभाव भइरहेको समयमा काम छोड्दा राज्य र नेपाली नागरिकलाई असहयोग गरेको जस्तो हुने उनको बुझाइ छ । 

महामारीको समययमा उपचार गर्न आएको मानिसबाट सुरक्षित नभएको उनले गुनासो गरे । अहिले अस्पतालले सम्पूर्ण स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति गर्ने आश्‍वासन दिएको छ । पुनः अस्पतालमा यस्तै खालका घटना दाेहाेरिएमा अस्पतालबाट काम छोडेर निस्कने उनकाे भनाइ छ ।  


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x