कोभिड-१९

'परीक्षण रिपोर्ट ढिला आउँदा संक्रमण कम देखियो'

'संक्रमण घट्दैमा उत्साहित हुनुपर्दैन'

अतिन आचार्य |
जेठ १७, २०७८ सोमबार १३:५५ बजे

काठमाडौँ :  जेठ १० गते देशभर २० हजार ४५३ जनाको कोभिड परीक्षण गर्दा सात हजार १ सय ५३ मा संक्रमण देखिएको थियो । ११ गते २२ हजार ९ सय ३६ परीक्षण गर्दा ८ हजार ६ सय ३६ जनामा कोभिड देखिएको थियो । १२ गते १९ हजार ३ सय ५२ जनाको परीक्षण गर्दा छ हजार ७ सय १४ मा कोभिड देखियो ।

दुई दिन यता एक्कासि कोभिड संक्रमणको संख्या घट्दै गएको छ । गत शनिबार १४ हजार ७ सय ५२ मा परीक्षण गर्दा चार हजार ४ सय ८७ जनालाई संक्रमण देखियो । आइतबार ( हिजो ) १२ हजार ७ सयको परीक्षण गर्दा चार हजार ३ सय ६९ मा संक्रमण देखिएको थियो ।


परीक्षणदर घटाएसँगै संक्रमण पनि कम पुष्‍टि हुँदै गएको छ । केही साता अघिसम्म दैनिक २० हजारको हाराहारीमा परीक्षण गर्दा करिब १० हजारको हाराहारीमा संक्रमण पुष्टि हुँदै आएको थियो ।

परीक्षण दायरा कम गरेसँगै संक्रमण घटेको जस्तो देखिएको छ । नेपालमा अब परीक्षण दायरा र संक्रमण कम भएकै हो ? भनेर इकागजले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलसँग बुझ्ने प्रयास गरेको छ ।

परीक्षण कम भएकाले संक्रमण संख्या कम भइरहेको उनले बताए । 'अधिकांश जिल्लामा विभिन्न ल्याबबाट परीक्षण गरिएका संक्रमितको यकिन संख्या हिजो पनि आइपुगेको छैन,' उनी भन्छन् । उनकाअनुसार धुलिखेल र अन्य जिल्लाका ल्याबबाट रिपोर्ट आएन । एन्टीजेनन्ट परीक्षण गरिएकाको पनि रिपोर्ट आएको छैन ।

तुलनात्मक रूपमा केही दिन यता अन्य संक्रमितको संख्या कम हुँदै गएको पौडेलले जानकारी दिए । 'लुम्बिनी र बागमती प्रदेशमा भने संक्रमितको संख्या घट्दै गइरहेको छ,' उनी भन्छन,'  परीक्षणको दायरा घटाउने योजना छैन । एन्टिजेन्ट परीक्षणलाई पहिलो प्राथमिकतामा राखेका छौ ।'

पौडेलले गाउँ-गाउँमा एन्टीजेन्टबाट व्यापक रूपमा परीक्षण गरिने बताए । गाउँकेन्द्रित रहेर परीक्षण गरिने उनले जानकारि दिए । सहरबाट मानिसहरू गाउँमा गएकाले जोखिम बढेकाले गाउँमा परीक्षण गरिने उनले प्रस्ट पारे ।

'संक्रमण घट्दैमा उत्साहित हुनुपर्दैन'

केही साताको तथ्याक हेर्दा संक्रमणको संख्या घटेको भन्न मिल्ने भाइरोलोजिष्ट, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बासुदेव पाण्डे बताउँछन् । उनका अनुसार संक्रमितको घट्ने संख्या ३० प्रतिशत रहेको छ । यद्यपि पूर्ण रूपमा संक्रमण घटिनसकेको उनले बताए ।

'घट्ने ट्रेन्ड पनि छ । भारतमा पनि घट्दै गएकाले त्यसको प्रभाव नेपालमा पर्न सक्छ,' उनले भने,' केही दिन संक्रमितको संख्या कम हुँदैमा उत्साहित भइहाल्नुपर्ने अवस्था छैन ।'

मुख्यगरी सामाजिक दूरी कायम र जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न उनले सुझाव दिएका छन् । व्यापक रूपमा परीक्षण बढाउने र आइसोलेटगरी आम नागरिकलाई सुरक्षित राख्‍न खोपलाई पहिलो प्राथकितामा राख्‍नुपर्ने उनको भनाइ छ ।

'अस्पताल बाहिर राखि उपचार गर्नुपरेको छैन'

अस्पताल परिसरमा बाहिर राखेर उपचार गर्नुपर्ने अवस्थाको कमी आएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर कुमार राजभण्डारी बताउँछन् । केही दिन अघिसम्म अस्पताल प्राङ्गणमा राखी उपचार गरिएको थियो ।

'अस्पताल बाहिर राखेर उपचार गर्नु परेको छैन,' डा. राजभण्डारीले भने,' उपत्यकाका विभिन्न स्थानमा आइसोलेसन सेन्टर खुलेकाले पनि संक्रमितहरू उपचार गर्न गएकाले अस्पतालमा पनि गएका हुन सक्छन् ।'

राजभण्डीले अस्पतालको सबै बेड अहिले पनि संक्रमितले भरिभराउ रहेको जानकारी दिए । केही संख्यामा संक्रमणको संख्या मात्र घटेको हो,' उनले भने । निषेधाज्ञा अझै दुई साता कडाइ गर्न उनले सुझाव दिए ।

आइसोलेसनमा संक्रमितलाई राम्रोसँग स्याहार नभएकाले केही संख्यामा अस्पताल आउने गरेको राजभण्डारीले बताए । सामाजिक दूरी तथा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने उनले धारणा व्यक्त गरे । सर्वसाधारण तथा राजनीतिक दललाई भिडभाड हुने काम नगर्न उनले सुझाव दिए ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x