कोभिड-१९

चीनबाट ल्याइने 'भेरोसेल खोप' सर्वसाधारणले तत्कालै नपाउने

'धेरै खोप आएमा ४० वर्ष उमेर समूहका मानिसले लगाउन पाउने'

इकागज |
जेठ १७, २०७८ सोमबार १५:५० बजे

काठमाडौँ : सरकारले चीनबाट मंगलबार ल्याउन लागेको खोप तत्कालै सर्वसाधारण नागरिकले लगाउन पाउने छैनन् । भोलि चीनबाट पहिलो चरणमा दुई लाख डोज खोप आउने भएकाले तत्कालै नलगाइने स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले इकागजलाई  बताए ।

गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सिचिङ पीङबीच टेलिफोन संवाद भएको थियो । सोही वार्तामा भएको सहमतिअनुसार १० लाख डोज खोप आउने भएको हो । यस अघि पनि चीन सरकारले अनुदान स्वरुप सिनोफार्म कम्पनीको 'भेरोसेल' आठ लाख डोज खोप वितरण गरेको थियो ।


१० लाख खोप आएमा मात्र तत्कालै खोप लगाउन सुरु गरिने पोख्रेलको भनाइ छ । भोलि आउने दुई लाख खोप बाड्दाबाड्दा नपुग्ने भएकाले लगाउन सुरु नगरिने उनले बताए ।  खोप सबै प्रदेशमा बाड्नुपर्ने हुन्छ थोरै मात्रा आएकाले नपुग्ने उनको तर्क छ ।

'खोप आएको एक सातापछि मात्र खोप लगाउने प्रक्रियाअगाडि बढ्छ,' पोख्रेलले भने,' यस पटक आएको खोप कुन उमेर समूहका मानिसलाई लगाउने हो त्यो सम्बन्धी निर्णय भएको छैन ।'  कस्ता-कस्ता मानिस वा पेशा भएका मानिसलाई खोप लगाइने निर्णय नभएको उनले बताए ।  

 ६० वर्ष भन्दा माथि उमेर समूह माथिकालाई पहिलो प्राथमिकतमा राखिने उनले जानकारी दिए । जोखिम उमेर समूहका मानिस पहिलो प्राथमकिता पर्ने उनको दाबी छ ।

पोख्रेलले खोपको उपलब्धता कति मात्रामा हुन्छ त्यसलाई अध्ययन गरेर मात्र कुन उमेर समूहका मानिसलाई दिने भनेर निर्णय गरिने बताए । जति धेरै मात्रा खोप आयो त्यति कम उमेर समूहका मानिसलाई खोप लगाइने उनले प्रस्ट पारे ।

५५ देखि ६५ वर्षसम्मका मानिसलाई प्राथमिकतामा राखिने उनले जनाए । ज्येष्ठ नागरिकलाई पनि लगाइसकेकाले पनि यो पटक ५५ वर्षदेखि माथिका मानिसलाई खोप लगाइने उनको भनाइ छ । खोपको मात्रा धेरै आएमा ४० वर्ष उमेर समूहका मानिसलाई पनि खोप लगाउन सकिने उनले बताए ।

ज्येष्‍ठ नागरिकले कोभिसिल्डको पहिलो डोज लगाएकाले दोस्रो डोज खोप लगाउन नपाउने उनले जानकारि दिए । भारतले २०२१ सम्ममा कोभिसिल्ड खोप निर्यात नगर्ने भएकाले पनि खोप नपाइने भएको हो ।

अष्ट्राजेनिकाको खोप आएमा कोभिसल्डको दोस्रो डोज लगाउन बाँकी भएकालाई लगाउन सकिने उनले प्रतिक्रिया दिए । बेलायतसँग खोप ल्याउनका लागि पहल भइरहेको उनको भनाइ छ ।


Author

थप समाचार
x