चिनियाँ खोप साढे ५ लाखले लगाउन पाउने
खोप भण्डार क्षमता समस्या भएकाले बिहीबारबाट जिल्ला-जिल्लामा पठाइँदै
काठमाडौँ : चीन सरकारले अनुदानस्वरुप दिएको १० लाख डोज 'भेरोसेल' खोप साढे पाँच लाख नागरिकले लगाउन पाउने भएका छन् । मंगलबार चीनबाट ल्याइएको खोप ६० देखि ६५ वर्ष उमेर समूहका मानिसलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाका प्रमुख डा .तारानाथ पोखरेलले इकागजलाई जानकारी दिए ।
मन्त्रालयमा आज बसेको बैठकले जेठ २५ गतेबाट खोप लगाउने निर्णय गरेको पोखरेलले बताए । उनका अनुसार बुधबारसम्म १० लाख डोज खोप नेपाल आइपुग्छ । केन्द्रीय भण्डार क्षमतामा समस्या हुने भएकाले जिल्ला र प्रादेशिक खोप भण्डारण केन्द्रमा पठाइन्छ ।
'यसपटक ल्याइएको खोप उमेर समूहका आधारमा लगाइन्छ,' पोखरेल भन्छन्,' यसअघि ल्याइएका खोपहरू अधिकांश फ्रन्टलाइनरले लगाइसकेका छन् ।' यसअघि ल्याएको भेरोसेल खोप एक लाख बाँकी रहेको पनि उनले जानकारी दिए । उनले कुल ११ लाख खोप डोज बाँकी रहेको बताए ।
पोखरेलले थप खोप आउने सुनिश्चितता भएमा ६० वर्ष भन्दा कम उमेर समूहका मानिसलाई पनि खोप लगाइने जानकारी दिए । अहिलेलाई साढे पाँच लाख मानिसलाई लगाइन्छ ।
पेशाका आधारमा यो पटक कसैलाई खोप नलगाउने निर्णय भएको उनले बताए । मन्त्रालयले खोप लगाउन अगाडि कार्ययोजना बनाइसकेको छ । जिल्ला-जिल्लामा भएको खोप व्यवस्थापन अनुगमन समितिले खोप लगाउने निर्णय गर्नेछ ।
२०२१ सम्ममा एक करोड नागरिकलाई खोप लगाइने
२०२१ सम्ममा एक करोड नेपाली नागरिकलाई खोप लगाउने योजना रहेको पोखरेलको भनाइ छ । कोभ्याक्स अन्तर्गतको खोप 'जुन' महिनाभित्र आइसक्ने खबर प्राप्त भएको उनले जानकारी दिए । कोभ्याक्स कार्यक्रमबाट प्राप्त हुने १४ लाख डोज खोप पहिलो डोजको कोभिसिल्ड खोप लगाएकालाई दिने उनले जानकारी दिए ।
गत जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन कुराकानी गरेलगत्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई थप १० लाख डोज खोप दिने घोषणा गरेका थिए । यसअघि पनि चीनले ८ लाख डोज खोप अनुदानमै दिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया