कोभिड-१९

'काठमाडौँ बाहिरबाट अस्पतालमा आउने संक्रमितकाे संख्या बढ्यो'

डा. अनुप बास्तोला भन्छन्- कोभिडबाट बच्ने उपाय खोप मात्रै हाे

इकागज |
जेठ २३, २०७८ आइतबार ९:५८ बजे

काठमाडौँ : शुकराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बास्तोलाले अस्पतालमा काठमाडौँ बाहिरबाट कोभिड-१९ संक्रमितहरू आउने क्रम बढेको बताएका छन् । गाउँ-गाउँमा संक्रमितको संख्या बढिरहेको पनि उनले बताएका छन् ।

'इमर्जेन्सीमा आउने सिकिस्त बिरामीको संख्या केही घटेको छ, यो दर अझै घट्दो क्रममा जाने सम्भावना छ' डा. बास्तोलाले सामाजिक सञ्‍जालमा लेखेका छन । संक्रमितको संख्या विगत तीन हप्‍तादेखि कम हुँदै गएको डा. बास्तोलाले बताएका छन् । वैशाखको पहिलो साता अस्पतालको इमर्जेन्सीमा भर्ना हुनेको संख्या बढेको भए पनि अहिले घट्दो क्रममा रहेको उनको भनाइ छ ।


'डेढ महिना कोभिडका सिकिस्त बिरामीको उपचारमा हामी अहोरात्र खट्यौं । इमर्जेन्सीमा एकै दिन ५ जनासम्म बिरामीको मृत्यु भयो', उनी भन्छन,' हामीले चाहेर पनि इमर्जेन्सीका सिकिस्त बिरामीलाई भेन्टिलेटरसम्म लैजानै पाएनौं ।'

डा. बास्तोलाका अनुसार अस्पतालमा २४ बेडको आईसीयू बढाएर २८ बेड पुगे पनि कोभिडको पहिलो लहरमा ७ वटा भेन्टिलेटर थियो भने अहिले २२ वटा भेन्टिलेटर छन् । तर, अहिले पनि आईसीयू बेड र भेन्टिलेटर भरिएका छन् । अस्पतालको हालको क्षमता बराबर सिकिस्त बिरामी उपचाररत छन् ।

'दोस्रो लहरको उत्कर्षमा अस्पतालमा बेड अभावले बिरामी घरैमा सिकिस्त हुन्जेल बस्नुपर्ने बाध्यताले गर्दा धेरैले ज्यान गुमाए' उनले भने, 'अस्पताल आइपुगेका बिरामीको उपचारमा हामीले कुनै कसर बाँकी राखेनाैँ ।'

दोस्रो लहरको कोभिडमा  खोप लगाएका मानिस कम मात्र सिकिस्त भएको डा. बास्तोलाको भनाइ छ । 'कोभिडबाट बच्‍न खोप मात्र अचुक उपाय हो,' उनी थप्‍छन,' अबको अभियान धेरैभन्दा धेरैलाई खोपको व्यवस्था नै हो ।'

बास्तोलाले खोप उपलब्ध नभएसम्म अनावश्यक औषधि सेवन गरेर कोभिडका बिरामी घरैमा बस्दा खतरा हुने औल्याएका छन् । 'कोभिड निमोनिया भएको ६-७ दिनसम्म बिरामीलाई निकै गाह्रो पर्छ,' उनले लेखेका छन,'  त्यो बेला सामान्य ठानेर अस्पताल नआउँदा बिरामी जोखिममा पर्न सक्छन् ।'

संक्रमित अस्पताल आइपुगे उपचारका अनेका उपाय अपनाउन सकिने उनको भनाइ छ । घरै बसेर अन्तिम अवस्थामा अस्पताल आउँदा ढिला हुन सक्ने उनले बताए । श्वासप्रश्वासमा समस्या भएका बिरामीलाई अस्पताल ल्याउन ढिलाइ नगर्न उनले सुझाव दिएका छन् । अस्पतालले संक्रमितको व्यवस्थापन गर्न सक्ने उनले जानकारी दिए ।

दोस्रो लहरको डरलाग्दो समय पार हुने चरणमा रहेको उनले उल्लेख गरे । धेरैलाई खोपको व्यवस्था गर्न नसके र सुरक्षाका मापदण्ड पालना नगरे महामारीले अर्को रुप नलेला भन्न सकिन्न,' उनले थपे,' कभिडको दोस्रो लहरको उत्कर्षमा भोग्नु परेको बेहाल अवस्था फेरि पनि आइलागेमा धान्न सक्ने अवस्थामा नरहन सक्छ ।'


Author

थप समाचार
x