कोभिड-१९

खोप नलगाएका कोभिड संक्रमितको मृत्युदर बढ्दै, खोप खरिद गर्नुभन्‍दा अझै अनुदान खोज्‍दै सरकार

अतिन आचार्य |
जेठ २४, २०७८ सोमबार ९:३५ बजे

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक खोप लगाएको संख्या विवरण सार्वजनिक गर्छ । नेपालमा कोभिडविरुद्धको खोप लगाउन थालेकाे पाँच महिना पुगिसकेको छ । आइतबार मात्र पहिलो खोप लगाउने २१ लाख १३ हजार ८० र दोस्रो मात्रा पनि लगाउने ६ लाख ९१ हजार ४ सय ९४ जना पुगेको जानकारी दिएको छ ।

वैशाखको पहिलो सातादेखि कोभिडको दोस्रो लहर फैलियो । अस्पतालमा भर्ना हुनेको संख्या ह्वात्तै बढ्यो । अस्पताल भर्ना भएका संक्रमित गम्भीर अवस्थामा पुगेर निको हुनेको संख्या एकदमै न्यून थियो । यो समाचार तयार पार्दासम्म देशभर कोभिडका कारण मृत्यु हुनेको संख्या करिब ८ हजारको हाराहारीमा पुगेको छ ।


इकागजले उपत्यका लगायत मुलुकभरका केही कोभिड उपचार केन्द्रमा सम्पर्क गर्दा अधिकांश संक्रमितको मृत्यु खोप नलगाउनेहरू नै बढी छन् । केहीको अस्पताल लैजाँदै गर्दा बाटोमा भेन्टिलेटरमा पुगेर र एम्बुलेन्सबाट झार्दासमेत मृत्यु भएको छ ।

केहीको भने पहिलो डोज लगाएका तर दोस्रो डोज लगाउन नपाएकाको मृत्यु भएको छ । कोभिड महामारी तीव्र रुपमा फैलिँदा सबैभन्दा बढी खोप नलगाएका मानिस जोखिममा पर्ने देखिएको छ । समयमा खोप उपलब्ध भएमा मृत्युदर अझ घट्ने देखिएको छ ।

सरकार भने अनुदानकै खोपमा भर परेको छ । खोप खरिद प्रक्रियामा अलमल पर्दा मृतकको संख्या बढ्दै गएको छ । सरकार अनुदानको खोपले नागरिकको जोगाउने आशामा छ । अझ दोस्रो डोज लगाउन धैर्य गर्न भन्दै सूचना जारी गरी बसिरहेको छ ।

बाँकेको भेरी अस्पतालमा दुई महिनामा भेन्टिलेटरमा पुगेर मृत्यु हुनेको संख्या २४ पुगेको छ । मृत्यु हुनेमा कोभिडविरुद्धको खोप नलगाएका संक्रमितहरू रहेको अस्पतालतका कन्सल्यट्यान्ट डा. बद्री चापागाई बताउँछन् । उनका अनुसार युवा उमेर समूहका मानिसहरू रहेका छन् ।

२० देखि २९ वर्ष सम्म ३ जना, ३० देखि ३९ वर्षसम्म ६ जना, ४० वर्षदेखि ४९ वर्षसम्म ६ जना, ५० देखि ५९ वर्षसम्मका ६ जना, ६० देखि ८० वर्षसम्मका ३ जना रहेका छन् ।

'भेन्टिलेटरमा पुगेकाहरूको ज्यान जाने गरेको छ,' डा. चापागाई भन्छन्,' दुई महिनामा कुल संक्रमित मृत्युदरको संख्या करिब २६८ को मृत्यु भएको छ । अधिकांश संक्रमित सबै खोप नलगाएका बिरामी थिए ।'

मोरङको विराटनगर कोशी अस्पतालमा पहिलो लहरको कोभिड-१९ देखिएको भन्दा दोस्रो लहरको संक्रमणमा मृत्युदर बढेको छ । अस्पतालका मेसु डा. चुमनलाल दासका अनुसार करिब दई महिनामा २३ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्ष उमेर समूहका संक्रमितको मृत्यु भएको उनले जनाएका छन् ।

'मृत्यु हुनेमा सबै खोप नलगाएका छन्,' उनी भन्छन्,'खोप लगाएका संक्रमितहरू उपचार गर्न आएमा पनि तिनिहरूको स्वास्थ्य अवस्था गाह्रो भएको हुदैन । संक्रमण पुष्‍टि भएमा पनि सामान्य उपचार गरेर ठिक हुने गरेको छ ।'

उनका अनुसार केहीको अस्पताल ल्याउँदा ल्याउँदै बाटोमा मृत्यु भएको घट्ना छ । खोप नलगाउनेहरूको मृत्यु भएको छ । २० देखि ३० वर्षसम्म १, ३० देखि ४० वर्षसम्म ४, ४० देखि ५० वर्षसम्म २, ५० देखि ६० वर्षसम्म ६, ६० देखि ७० वर्षसम्मका ९ र ७० देखि ८० वर्षसम्म उमेर समूहका १ जनाको मृत्यु भएको छ ।

एम्बुलेन्सबाट झार्दाझार्दै मृत्यु

सशस्‍त्र प्रहरी अस्पतालमा मृत्यु हुनेहरू पनि खोप नलगाएका बढी छन् । दुई महिनामा ६३ संक्रमितको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. प्रविण नेपालले जानकारी दिए । खोप लगाएकालाई सामान्य लक्षण देखिए पनि उनीहरूको अवस्था गम्भीर नभएको उनले बताए ।

'अस्पतालमा मृत्युभएकाहरू सबै खोप नलगाका थिए,'डा. नेपाल भन्छन्,'कतिपय संक्रमितहरू एम्बुलेन्सबाट ओराल्दा-‌ओराल्दै पनि मृत्यु भएको छ ।'

नेपालका अनुसार महिला भन्दा बढी पुरुषको मृत्यु भएको छ । पुरुष ४३ र महिला २० छन् । ३० देखि ३९ वर्ष  उमेर समूहका ६, ४० देखि ४९ वर्ष उमेर समूहका ११,५० देखि ५९ वर्षसम्मका १३, ६० देखि ६९ वर्ष सम्मका १७७० देखि ७९ वर्ष उमेर समूहका १०, ८० देखि ८९ वर्ष समूहका ५ र १०० वर्ष माथिका १ जनाको मृत्यु भएको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा दुई महिनामा २ सय ५२ संक्रमिको भएको छ । मृत्यु भएकाहरू सबैले खोप नलगाएको अस्पतालका निर्देशक डा. रवि शाक्य जानकारी दिए । कोभिडविरुद्धको एक डोज खोप लगाएका केहीको मृत्यु भएको उनले बताए । 'अस्पतालमा भर्ना भएका खोप नलगाएका मानिसहरूको मृत्यु भएको छ, 'उनले भने, 'जुनसुकै उमेर समूहका मानिसहरूको ज्यान जाने गरेको छ ।'

त्रिवि अस्पताल महाराजगञ्‍जमा दुई महिनामा ४ सय भन्दा बढीको मृत्यु भएको छ । वैशाखको दोस्रो सातादेखि दैनिक १७ जनाको मृत्यु हुने गरेको अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले जानकारी दिए । हिजोआज मृत्युदरमा कमी आएको र कोभिड इमर्जेन्सीको बेड पनि खाली हुँदै गएको उनले बताए । 'पछिल्लो समय मृत्यु भएका सबै संक्रमितहरूले खोप लगाएका थिएनन,' अधिकारीले भन्छन्, 'यसबाट सुरक्षित राख्‍न खोप मात्र भरपर्दो उपाय हो ।'


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x