कोभिड-१९

'आफू अनुकुल केन्द्रमा गएर खोप लगाउनू'

इकागज |
जेठ २५, २०७८ मंगलबार १८:२७ बजे

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मंगलबारबाट सुरु भएको ६० देखि ६४ बर्ष उमेरसमूहका सबै नागरिकलाई खोप लगाउन निर्देशन दिएका छन् । उनले खोप लगाउन योग्य उमेर समूहका सबैलाई लगाउन आग्रह गरेका छन् । खोप केन्द्रको अनुगमन गर्ने क्रममा प्रमुख शाक्यले यस्तो बताउका हुन् ।

‘महानगरपालिकाले अहिले ३२ वटै वडामा तोकिएको उमेर समूहका नागरिकलाई आफूलाई पायक पर्ने ठाउँमा खोप लिन पाउने व्यवस्था गरेको छ,’ शाक्यले भने, ‘खोप लगाउन त्यही वडाको नागरिक हुनुपर्छ भन्‍ने छैन । उमेर समूह मिलेपछि महानगरपालिकाले व्यवस्थापन गरेका ३२ वटामध्ये जुनसुकै केन्द्रबाट खोप पनि लगाउन सकिन्छ ।’


उनले उमेर समूह खुल्ने परिचयपत्र बोक्न र पायक पर्ने ठाउँमा गइ खोप लगाउन आग्रह गरे । ‘उक्त उमेर समूहका कोही पनि खोप अभियानबाट नछुटुन भनेर जनप्रतिनिधिको अगुवाइमा टोलटोलमा माइकिङ गर्ने व्यवस्था गरेका छौँ,’ उनले भने, ‘हामीले घरघरमा पुगेर खोप अभियानमा सहभागी हुन आग्रह समेत गरेका छौँ । त्यसकारण कोही छुट्ने छैनन भन्‍ने हामीले अनुमान गरेका छौँ ।’ 

यो चरणमा मात्रै एक लाख सहभागी हुने लक्ष्य लिएको उनले जानकारी दिए । शाक्यले आज वडा १३ को जनप्रभात मावि कालिमाटी, वडा २१ को यंगाल सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, वडा २३ को ओम बहाल र वडा २५ कन्या मन्दिर माध्यामिक विद्यालयमा राखिएका खोप केन्द्रको अनुगमन गरेका थिए । वडाध्यक्ष, सदस्य, स्वयमसेवक, सामाजिक संस्थाका प्रतिनिधिहरुको निरन्तरको खटाइले थप सहज भएको पनि शाक्यले जानकारी दिए ।

‘३२ वटै वडा र अझ त्यसमा पनि उमेर समूह छुट्याएर खोप अभियान सञ्चालन गरेपछि धेरै सहज भएको प्रतिक्रिया प्राप्त भएको छ,’ उनले भने, ‘आगामी दिनमा यसलाई थप सहज बनाउँछौँ । अनुगमनका क्रममा सकेसम्म छिट्टै सबैलाई खोपको व्यवस्था मिलाउन सुझाव दिनुभएको छ । उहाँहरुको सुझावलाई आत्मसाथ गर्दै नेपाल सरकारसँग थप समन्वय गरेर अघि बढ्छौँ र सकेसम्म छिट्टै सबै महानगरवासीलाई खोपको व्यवस्था गर्छौ ।’


Author

थप समाचार
x