कोभिड-१९

कोभिडविरुध्दको खोपको व्यवस्थापन गर्न स्वास्थ्यले बनायो ८ समिति

इकागज |
मंसिर २०, २०७७ शनिबार १९:१४ बजे

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुध्दको खोप व्यवस्थापनको लागि ८ समिति बनाएको छ । मन्त्रालयले खोप व्यवस्थापन गर्न बिहीबार दुर्त कार्य योजना पारित गर्दै ८ समिति बनाएको हो । मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै योजना पारित गरेर  पहिचान गरी समिति गठन गरेका हुन् ।  

मन्त्रालयका सहायक प्रावक्ता डा. समीरकुमार अधिकारीले खोप भित्र्याउन, भण्डारण गर्न, प्रयोगमा ल्याउन र उचित व्यवस्थापनका लागि समिति गठन गरिएको बताए । मन्त्रालयले खोप व्यवस्थापनका लागि छुट्टै सचिवालयको व्यवस्थापन गर्ने भएको छ । सचिवालयको संयोजक स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंह हुनेछन् ।


मन्त्रालयले बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा श्यामराज उप्रेतीको संयोजकत्वमा खोप व्यवस्थापन प्राविधिक तयारी समिति, स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक चूडामणि भण्डारीको संयोजकत्वमा पूर्वाधार विश्लेषण तथा आवश्यकताको आकलन गर्ने समिति, अनुगमन नियमन, अनुसन्धान तथा क्लिनिकल व्यवस्थापन गर्न मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. विकास देवकोटाकफ संयोजकत्वमा समिति बनाइएको छ । 

मन्त्रालयका नीति योजना अनुगमन महाशाखा प्रमुख डा.गुणराज लोहनीलाई खोप कोष सञ्‍चालन समिति र सार्वजनिक सूचना प्रभाव संयोजक तोकिएको छ । यस्तै, खोप भित्रिएपछि कसलाई लगाउने भन्‍ने विषयमा प्राथमिकता निर्धारण गर्न उपचारात्मक सेवा महाशाखाका निर्देशक डा.तारानाथ पोखरेलको संयोजकत्वमा समिति बनाइएको छ ।

मन्त्रालयले परिवार कल्याण महाशाखाका प्रमुख डा भीमसिंह तिंकरीको संयोजकत्वमा परिचालन योजना समिति बनाएको छ । नेपालले कुल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिइने योजना बनाएको छ । कोभिडको खोप १५ वर्षभन्दा माथिका व्यक्तिहरूलाई मात्र दिइने छ ।


 


Author

थप समाचार
x