सप्तरीमा कोभिड परीक्षण रोकियो
फाइल फोटो
जनकपुरधाम – सप्तरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको कोरोना संक्रमितको स्वाव चेकजाँच गर्ने मेसिन बिग्रिँदा सेवाग्राही मर्कामा परेका छन् । हाल कोभिड–१९ को तेस्रो लहरको खतरा बढिरहेका बेला अस्पतालमा १२ दिनदेखि पीसीआर परीक्षण रोकिँदा सर्वसाधारण समस्यामा परेका हुन् ।
मेसिनमा प्राविधिक गडबडी आएका कारण रिपोर्ट गलत आएपछि परीक्षण रोक्नुपरेको अस्पतालका ल्याब इञ्चार्ज प्रकाशकुमार यादवले बताए । ‘परीक्षणका लागि पीसीआर मेसिनमा स्याम्पल लोड गर्दा रिपोर्ट नेगेटिभ आउने ठाउँमा पोजेटिभ देखाउने र पोजेटिभको ठाउँमा नेगेटिभ आउने समस्या देखिएपछि तत्कालका लागि परीक्षण सेवा बन्द गरिएको हो,’ उनले इकागजसँग भने, ‘मेसिनको यस्तो अवस्थाबारे केन्द्रीय जनस्वास्थ्य ल्याबमा जानकारी गराइसकेका छौं तर हालसम्म मेसिन ठिक गर्न प्राविधिक टोली आइसकेको छैन ।’
पीसीआर प्रणालीको मेसिनमा समस्या आए पनि एन्टिजेन प्रणालीबाट बिरामीहरूको स्वाव परीक्षण जारी रहेको उनले बताए । यस्तै सरकारले सप्तरीमा एउटामात्र मेसिन दिएकाले बिग्रिएकै मेसिन मर्मत गरेर चलाउनुको विकल्प नभएको उनको भनाइ छ ।
‘प्रदेश नम्बर २ का अन्य जिल्लामा प्रदेश सरकारले दुई थान पीसीआर मेसिन दिएको छ तर सप्तरी जिल्लाका लागि एउटा मात्रै पीसीआर मेसिन उपलब्ध गराएकोमा त्यो पनि बिग्रिएपछि पीसीआर परीक्षण मात्र होइन स्वाव संकलन कार्यसमेत प्रभावित भएको छ,’ उनले भने ।
एन्टिजेन परीक्षण आफ्नै मेसिनमार्फत गराउँदै आएको यो अस्पतालले पीसीआर चेकजाँच भने प्रादेशिक ल्याब जनकपुरधामबाट गराई काम चलाइरहेको उनले बताए । अस्पतालमा मेसिन बिग्रिएपछि घन्टौं टाढाबाट अस्पतालसम्म आइपुगेका बिरामी र सम्भावित संक्रमितहरूले अस्पताल प्रसाशन र सरकारसमक्ष गुनासो गरेका छन् ।
‘अस्पतालको मेसिन बिग्रएपछि धेरै टाढाबाट अस्पतालसम्म आएका हामी त्यसै घर फर्किनु परेको छ । पैसा तिरेर कोभिड परीक्षण गर्न खोज्दा पनि हामीले सेवा नपाउनु दुःख लाग्दो कुरा हो,’ अस्पतालमा भेटिएका एक बिरामीले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया