कोभिड-१९

'कोभिड-१९ भाइरसले रूप बदल्न सक्छ, दुई–दुई सातामा नमूना परीक्षण गरिरहनुपर्छ'

अतिन आचार्य |
साउन ३१, २०७८ आइतबार १५:० बजे

काठमाडौँ– गृह मन्त्रालयले पहिलो र दोस्रो लहरमा सूचीकृत गरिएको अस्पताललाई पुनः संक्रमितको उपचार गर्न निर्देशन दिइसकेको छ । दिनप्रतिदिन संक्रमितको संख्या बढेको र अस्पतालको बेड भरिन थालेपछि कोभिडको तेस्रो लहरको सम्भावना देखिएकाले बिहीबार मन्त्रालयले आवश्यक उपचार केन्द्र थप गर्न निर्देशन दियो ।
स्वास्थ्य मन्त्रालयका अनुसार यो समाचार तयार पार्दासम्म देशभर सक्रिय संक्रमित ३८ हजार ७९८ जना छन् । संक्रमण दर २२ प्रतिशत पुगेको छ । एक सातामा मात्र देशभर २१ हजार ७५९ संक्रमित थपिएका छन् । अस्पतालमा थपिएको संक्रमित र सरकारले उपचार केन्द्र थप गर्न निर्देशन दिए अनुसार कोभिडको तेस्रो लहर आइसकेको जस्तो भएको छ । 

कोभिडको पहिलो लहरमा सबैभन्दा बढी ज्येष्ठ नागरिक प्रभावित बनेका थिए । मृत्युको  जोखिम पनि वृद्धवृद्धामा बढी देखियो । तर पछिल्लो समय युवाहरू बढी संक्रमित हुन थालेका छन् । 


युवाहरू बढी संक्रमित देखिनु, संक्रमितको संख्या दिनप्रतिदिन बढनु र अस्पतालमा उपचार गराउनेको संख्या बढ्दै जानुले मुलुकमा कोभिडको जोखिम उच्च रहेको पुष्टी हुन्छ । कोभिडको परिवर्तित भाइरस देखिएकाले सातामै नयाँ भेरियन्टको परीक्षण गर्नुपर्ने र खोप लगाउँदा पनि संक्रमितको संख्या बढेकाले यसको अध्ययन हुनुपर्ने विज्ञहरूले बताउँन थालेका छन् ।

किन बढ्यो संक्रमण ? 

नेपालमा पछिल्लो समयम संक्रमितको संख्या किन बढ्यो त्यसको पहिचान गर्नुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्व निर्देशक डा. सागरकुमार राजभण्डारी बताउँछन् । नयाँ–नयाँ भेरियन्टको परिवर्तित भाइरस (मल्टिपल म्युटीसन) देखिएकाले तिनिहरूको समयमा परीक्षण गर्नुपर्ने उनको भनाइ छ ।
‘कोभिडबाट जोगिन खोप लगाउन खोप केन्द्रमा भीडभाड गर्छौं त्यहींबाट पनि कोभिड सर्न सक्ने भएकाले भीड नियन्त्रण गर्नुपर्छ,’ उनले भने, ‘खोप लगाएपछि कोभिड लाग्दैन जस्तो गरेर खुला रूपमा हिंड्नु हुँदैन । कोभिड परीक्षणको दायरा बढाएर सबैलाई आइसोलेसनमा राख्नुपर्छ ।’

निषेधाज्ञा खुकुलो भएसँगै मानिसहरूको गतिविधि बढेकाले संक्रमितको संख्या बढेको राजभण्डारीले बताए । युवाहरू तथा अन्य उमेर समूहका मानिसहरूको बढी हिँडडुल बढेकाले बढेकाले बढी संक्रमण देखिएको हुन सक्ने उनको अनुमान छ ।

‘खोप लगाउन वञ्चित उमेर समूहका मानिसहरूमा बढी संक्रमण देखिएको छ, ’ डा. राजभण्डारीले भने,’ खोप लगाउने उमेर समूहका मानिसहरूमा संक्रमण पनि कम देखिएको छ ।’ 

जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने राजभण्डारीले सुझाए । कस्तो खालको भाइरस हो त्यसको अनिवार्य परीक्षण गर्नुपर्ने उनको भनाइ छ । उनको धारणा अलिक फरक छ । दोस्रो लहर नसकिएकाले तेस्रो लहरको परिकल्पना गर्न नमिल्ने उनी बताउँछन् । अधिकांश मानिसलाई खोपको व्यवस्था गर्न सकेमा कम मानिसलाई कोभिड देखिने राजभण्डारीको भनाइ छ ।

‘कोभिड नियन्त्रण गर्न आवतजावतमा कडाइँ गर्नुपर्छ, सुपर स्प्रेडरबाट जोगिनुपर्छ’

कोभिड नियन्त्रणका लागि खुला नीतिलाई कडाइँ गरिनुपर्ने भाइरोलोजिस्ट डा. बाबुराम मरासिनीले बताए । संक्रमणदरको संख्या चारदेखि पाँच हजारमा तल झर्नसाथ नियन्त्रणमा आएको भनेर उत्साहीत हुननहुने उनको भनाइ छ ।

‘कोभिडविरुद्ध प्रभावकारी कदम चाल्न पुनः निषेधाज्ञा लगाइ अति आवश्यक क्षेत्रलाई स्वास्थ्य सुरक्षाका मापदण्ड प्रभाकारी बनाएर खुला राख्नुपर्छ,’ डा. मरासिनीले भने, ‘काम गरी खानेलाई सहज वातावरण बनाइ कडाइ गरिनुपर्छ ।’ परीक्षणको दायर बढाएर आइसोलेट गर्न डा. मरासिनीले सुझाव दिए । नेपालभित्र लामो दूरीको यात्रा गर्दा कोभिड परीक्षण गरेर जानुपर्ने उनले बताए । परीक्षण नगरी जाने प्रवृत्तिले ग्रामीण भेगमा संक्रमण फैलन त्रास बढिरहेको उनको भनाइ छ । 

भाइरोलोजिस्ट मरासिनीले चाडपर्वको समय आएकाले दुई महिनापछि तेस्रो लहर आउन सक्ने चेतावनी दिए । उनले राजनीतिक दलको गतिविधि नियन्त्रण नहुने र खोप लगाउने ठाउँमा हुने भीडभाड नै ‘सुपर स्प्रेडर’ हुनसक्ने जोखिम औंल्याए । 

‘संक्रमित बढे अस्पतालले धान्न मुश्किल पर्छ’

सबै जिल्लामा संक्रमण बढिरहेकाले अस्पतालमा संक्रमितको संख्या थपिने क्रम बढैको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारी बताउँछन् । ‘समुदायमा उपचार गराउने भन्दा पनि परीक्षण गराउनेको संख्या कम रहेकाले पछिल्लो केही साता यता संक्रमण बढन् थालेको देखिन्छ,’ उनले भने ।
अस्पतालमा उपचार गराउने संक्रमितको संख्या बढेकाले स्वास्थ्य सुविधाले नधान्ने चुनौतीपूर्ण अवस्था समेत आउनसक्ने डा. अधिकारीको भनाइ छ । उपचार गराउनेको संख्या बढेसँगै संक्रमण समुदायमा भित्रभित्र फैलिरहेको हुनसक्ने उनले बताए ।

डा. अधिकारीले परीक्षण गर्ने मानिसको संख्या कम भए पनि संक्रमित बढ्दै गएको बताए । निषेधाज्ञा खुकुलो भएको र राजनीतिक दलका गतिविधि बढ्नु पनि संक्रमण बढनुको मुख्य कारक रहेको उनको ठहर छ । सामाजिक दूरी पालना नगर्ने अनि मास्क राम्रोसँग नलगाई च्यूँडो तथा तथा गोजीमा राख्नुको परिणाम देखिन थालेको उनको भनाइ छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x