कोभिड संक्रमण बढेपछि चितवनमा सरकारी कार्यालयको सेवा बन्द
चितवन - कोभिड– १९ को संक्रमणमा दिनहुँ वृद्धि भएपछि स्थानीय प्रशासनले चितवनमा १० दिन निषेधाज्ञा लम्ब्याएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सोमबार राति १२ बजेदेखि १० भदौसम्म निषेधाज्ञा थप गरिएको बताए ।
जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार आदेश जारी गर्दै धेरै मानिस जम्मा हुने सभा, सम्मेलन, प्रदर्शन, सेमिनार, तालीम, सिनेमा हल, पार्टी प्यालेसलगायत सञ्चालनमा रोक लगाएको छ । यस्तै बढी भिडभाड हुने प्रशासन, मालपोत, नापी, यातायात कार्यालयमा अत्यावश्यक तथा आन्तरिक कार्यबाहेकका नियमित सेवा स्थगित गरिएको छ ।
खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी, माछा, मासु, अण्डा, दाना, ग्यास, पूजा पसलहरू हरेक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ । यस्तै इलेक्ट्रोनिक, भाँडा, कपडा, फेन्सी, कस्मेटिक, सुनचाँदी, फर्निचर, जुत्ता चप्पल, टेलरिङ, पुस्तक पसलहरू आइतबार, मंगलबार र बिहीबार दिउँसो १२ देखि साँझ ६ बजेसम्म खुल्न पाउने छन् ।
यस्तै खाजा घर, रेष्टुरेण्ट, मिठाइ पसल दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म खुल्नेछन् । सार्वजनिक सवारी सञ्चालनमा जोर–बिजोर प्रणालीलाई निरन्तरता दिँदै सिट क्षमताअनुसार सञ्चालन गर्न पाइने आदेशमा भनिएको छ ।
स्थानीय तहका प्रमुखहरूसँगको छलफलबाट जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञामा कडाइ गर्ने योजना बनाएको हो । ‘कोभिड संक्रमितको अवस्था हरेर थप कडाइ गर्न सकिने छ । प्रशासनको आदेश पूर्ण रूपमा पालना गर्नुहुन सर्वसाधारणमा हाम्रो अनुरोध छ,’ आदेश सार्वजनिक गर्दै उनले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया