काेभिड महामारी
हवाई र स्थलमार्गबाट नेपाल भित्रिदै ओमिक्रोन भेरियन्ट
विदेशबाट आएका सबैलाई क्वारेन्टाइन राख्नैपर्नेमा जोड !
फाइल तस्बिर
काठमाडौँ - बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफीङमा प्रवक्ता डा. संगीता मिश्राले कोभिड-१९ को ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिइन् । उनले नियमित प्रेस ब्रिफिङमा भनेकी थिइन्,' ५८ वर्षीय पुरुषमा कोभिडको नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्यकर्मीको निगरानीमा रहेका र अहिले होम आईसोलेशनमा छन् ।'
संक्रमितको सम्पर्कमा आएका सबैको कन्ट्रयाक ट्रेसिङ गरिरहेको छ । उनलाई ललितपुरको निजी ल्याबमा गरिएको परीक्षणमा ओमिक्रोन भेरियन्ट देखिएको थियो । केही दिनअघि उनी ओमिक्रोन संक्रामक मुलुकबाट नेपाल प्रवेश गरेका थिए । यो सँगै मुलुकमा ओमिक्रोन संक्रमितको संख्या तीन पुगेको छ ।
दैनिक जसो मुलुकमा दैनिक तीन सयको हाराहारीमा कोभिड संक्रमित थपिने गरेका छन् । विदेशबाट आएका नागरिकहरू सरकारले तोकेको होटल क्वारेन्टाइनमा नबसी सिधा होम क्वारेन्टाइनमा बस्दा ओमिक्रोन संक्रमणको जोखिम बढ्ने सम्भावना बढ्दै गएको छ ।
पछिल्लो समय विदेशबाट खोप लगाएर आएका नागरिकलाई सरकारले क्वारेन्टाइनमा नबस्ने व्यवस्था गर्दा उनीहरू सिधा घर जाने गरेका छन् । खोप लगाएका मानिसमा पनि ओमिक्रोन भेरियेन्ट देखिन थालेको छ ।
नेपालमा कोभिडविरुद्धको खोप लगाए पनि कोभिडको जोखिम नटरिसकेको स्वास्थ्य मन्त्रालयको सह-प्रवक्ता डा.समिरकुमार अधिकारीर बताउँछन् । विगतको तुलनामा कोभिड संक्रमितको संख्या मात्र घटेको उनले जनाए ।
'कोभिड संक्रमितको संख्या मात्र घटेको हो,' डा.अधिकारीले भने,' लापर्वाही गरेमा र सरकारले लागू गरेको नियमलाई बेवास्ता गरेमा संक्रमण फैलने जोखिम बढिसकेको छ ।'
कोभिड संक्रमणबाट सुरक्षित हुने भरपर्दो माध्यम भनेको भीडभाडबाट टाढा रहनुपर्ने मास्क लगाउनुपर्ने उनले बताए । खोप लगाए पनि कोभिड संक्रमणको जोखिमबाट मुक्त रहन नसक्ने उनको भनाइ छ ।
कडाइका साथ नियमकाे पालना गरौ
खोप लगाएर आएका विदेशी तथा नेपाली नागरिकलाई होटल क्वारेन्टाइनमा राख्नुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्व निर्देशक डा. सागरकुमार राजभण्डारी बताउँछन् ।
'ओमिक्रोनको जोखिम विमानबाट आउने मानिसमा मात्र छैन,' उनले भने,' भारतबाट आएका मानिसबाट समेत फैलने त्रास छ । ' पछिल्लो समय भारतमा दिन प्रतिदिन ओमिक्रोनको संख्या बढनुले खुला सीमाबाट आउने मानिसमा संक्रमण भित्रिने त्रास रहेको उनले ओल्याए ।
राज्यले कोभिड नियन्त्रण गर्न लागू गरेका नियमहरू कडाइका साथ पालना हुनुपर्ने राजभण्डारीको माग छ । क्वारेन्टाइन र आईसोलेशनमा बस्ने नियम सबैलाई लागू हुनुपर्ने उनको भनाइ छ । विदेशबाट आएकाले खोप लगाएको भए पनि क्वारेन्टाइनमा बस्नुपर्ने उनले तर्क गरे ।
होम क्वारेन्टाइनमा बस्नेलाई सरकारले प्रत्यक्ष निगरानी गर्नलाई उनले सुझाव दिए । 'खोप लगाउँदैमा कोभिडबाट सुरक्षित भइन्छ भन्नु गलत हो,' उनी भन्छन,' संक्रमणदर र मृत्युदर मात्र घटेको हो । भाइरसले स्वरुप परिवर्तन गर्न सक्छ । कहाँको भाइरस कडा र नरम कुनबेला हुन्छ थाहा छैन ।' सबैले जनस्वास्थ्यको मापदण्ड अपनाउनलाई उनले सुझाव दिए ।
उनले स्वास्थ्य मन्त्रालय मात्र नभइ अन्य मन्त्रालय पनि जिम्मेवार बन्नुपर्ने धारणा राखे । महामारीमा कर्मचारीलाई विदेश भ्रमण पठाउन नहुने उनको राय छ । बढी भीडभाड हुने कार्यक्रम तथा सभा सम्मेलन गर्न नहुने उनी बताउँछन् । आउँदै गरेको अंग्रेजी नयाँ वर्षमा बढी जमघट हुने भएकाले त्यस्ता ठाउँमा स्वास्थ्य सजगता अपनाउनुपर्ने उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया