प्रदेश १ मा साढे १४ लाखले लगाए दुवै मात्राकाे खोप
फाइल फोटो
विराटनगर - प्रदेश १ मा कोभिड १९ विरुद्धको दुवै डोज लगाउनेको संख्या साढे १४ लाख नाघेको छ । अहिलेसम्म ३२ लाख डोज खोप लगाइसकिएको छ । १४ लाख ८९ हजार ६१५ जनाले दुवै डोज खोप लगाएका हुन् ।
१७ लाख ४५ हजार ६५४ जनाले पहिलो डोज खोप पुरा गरेका छन् । पहिलो डोज लगाइसकेका अझै १५ लाख व्यक्तिले दोस्रो डोज लगाउन बाँकी रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साहले जानकारी दिए ।
कोभिशिल्डको पहिलो डोज ३ लाख ५० हजार र दोस्रो डोज २ लाख ७३ हजारले लगाइसकेका छन् । भेरोसेलको पहिलो डोज १० लाख ७६ हजार र दोस्रो डोज ७ लाख ५२ जनाले लगाएका छन् ।
२ लाख ४५ हजार ४ सय ६५ जनाले जोन्सेन लगाएका छन् । अस्ट्राजेनेकाको पहिलो डोज २ लाख ९६ हजार र दोस्रो डोज २ लाख १२ हजार जनाले लगाएका छन् । फाइजरको पहिलो डोज ५ हजार ९ सय र दोस्रो डोज ३ हजार ८ जनाले लगाएको जनाइएको छ ।
जिल्ला स्वास्थ्य सूचना प्रणालीमा प्रविष्टि भएको तथ्यांक अनुसार प्रदेश १ मा हालसम्म ३२ लाख ३५ हजार २६९ डोज खोप लगाइसकिएको छ ।
आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख साहका अनुसार प्रदेश १ मा कोभिड १९ विरुद्धको खोप लगाउनेको अनुमानित संख्या ४९ लाख ९५ हजार १६२ हुने प्रक्षेपण गरिएको छ । जसमा १८ वर्षभन्दा माथिको जनसंख्या ३५ लाख ७५ हजार ८६६ रहेको छ ।
उनले ३५ लाख ९६ हजार २९६ डोज खोप प्रदेश १ को प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रमा प्राप्त भएको जानकारी दिए । जसमध्ये पहिलो चरणमा प्रदेश २ को सप्तरी र सिरहाका लागि ८९ हजार डोज पनि केन्द्र मार्फत नै वितरण गरिएको जनाइएको छ ।
भेरोसेललाई सिरिन्जको अभाव
प्रदेश १ मा कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाउनका लागि सिरिन्जको अभाव भएको छ । खोप आएपनि सिरिन्ज नआउँदा भेरोसेल खोप अभियान प्रभावित बनेको हो । खोप लगाउन आवश्यक पर्ने ०।५ एमएलको सिरिन्ज नहुँदा भएको खोप पनि लगाउन नसकिएको जनाइएको छ ।
आपूर्ति केन्द्रका प्रमुख साहका अनुसार सोमबारसम्म सिरिन्ज विराटनगर आइपुग्ने तयारी छ । केन्द्रमा अहिले भेरोसेलको ३ लाख ७७ हजार ८५० डोज खोप सिरिन्ज अभावमै थन्किएर बसेको जनाइएको छ । भेरोसेल खोपका लागि सिरिन्जको अभाव भएपनि हाल झापा, मोरङ र सुनसरी बाहेकका ११ जिल्लामा मोर्डना खोप लगाउने कार्य भने जारी रहेको छ ।
मोरङ र सुनसरी जिल्लामा बालबालिकालाई यसअघि लगाइएको फाइजर खोप केन्द्र सरकारले प्रदेश आपूर्तिमा नपठाई सिधै सम्बन्धित जिल्ला अस्पतालमा पठाएकाले फाइजर खोप अभियान अन्तरगत खोप प्राप्त गरिसकेकाहरुको विवरण प्राप्त हुन नसकेको साहले बताए ।
प्रदेश १ मा हाल दैनिक २० हजारसम्मले खोप पाइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । निरन्तर खोप र सिरिन्ज प्राप्त भए आगामी वैशाख महिनासम्ममा लक्षित उमेर समुहका अधिकांश व्यक्तिले कोभिड १९ विरुद्धको खोप प्राप्त गर्ने मन्त्रालयको अनुमान छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया