कोभिड-१९

गण्डकीका मुख्यमन्त्री र मन्त्रीको दसैँ भत्ता कोभिड कोषमा

इकागज |
कात्तिक ५, २०७७ बुधबार १२:५९ बजे

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको दसैँ भत्ता कोरोना कोषमा जम्मा हुने भएको छ । बुधबार बिहान बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले मुख्यमन्त्री तथा मन्त्रीको दसैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । गण्डकी सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले दसैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिए ।

दसैँ भत्तामा १ महिनाको तलब बराबर मुख्यमन्त्री, मन्त्री तथा सांसदले पाउने रकम कोरोना कोषमा जम्मा हुने भएको हो । गण्डकी प्रदेशमा मुख्यमन्त्रीको मासिक पारिश्रमिक ७० हजार र मन्त्रीहरुको ६० हजार रुपैयाँ छ । गण्डकीका कांग्रेस र जनमोर्चाका सांसदले भने दसैँ भत्ता फिर्ता गर्ने निर्णय गरिसकेका छन् । सांसदले पाउने मासिक पारिश्रमिक ५२ हजार रुपैयाँ, दलका सचेतकले ५४ हजार २ सय, प्रमुख सचेतकले तलब स्वरुप पाउने ५६ हजार ८ सय ४० रुपैयाँ फिर्ता गर्ने निर्णय गरेका थिए ।


गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितलाई निशुल्क उपचार दिने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना संक्रमितको उपचारमा प्रदेश पछाडि नहट्ने भन्दै निशुल्क उपचार गर्ने बताएका छन् । अहिले भइरहेको उपचारभन्दा थप व्यवस्थित हुने गरी उपचार गरिने मुख्यमन्त्री गुरुङले जनाए । ‘जसरी अहिले निशुल्क उपचार गरिरहेको छ, त्यो भन्दा थप व्यवस्थित रुपमा उपचार गछौँ,’ गुरुङले भने । प्रदेशका ३८ आइसोलेसनबाट संक्रमितको निशुल्क उपचार भइरहेको जानकारी दिए ।


 


Author

थप समाचार
x