तिलोत्तमामा एक लाखले लगाए काेभिडविरुद्धको खोप
फाइल तस्वीर
रुपन्देही – रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक लाखभन्दा बढीले काेभिडविरुद्धको खोप लगाएका छन् । हालसम्म ८७ हजार ४६३ ले खोपको पूरा मात्रा लगाइसकेको र बाँकीले खोपको पहिलो मात्रा लगाएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । तिलोत्तमामा १८ वर्षमाथिको लक्षित जनसङ्ख्या ८० हजार रहेको अनुमान गरिएकामा पूरा डोज खोप लगाएको जनसङ्ख्या ८७ हजारभन्दा बढी पुगेको छ ।
बसाइँसराइ गरी आएका नयाँ बासिन्दा र अध्ययन, रोजगारीलगायतका विभिन्न अवसरका लागि अस्थायीरूपमा बस्ने बासिन्दाका कारण लक्षितभन्दा बढीले खोप लगाएको जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले बताए । नगरपालिकाले गरेको घरधुरी सर्वेक्षणअनुसार नगरको जनसङ्ख्या एक लाख २३ हजार ८३६ छ । यहाँ १२ वर्षभन्दा माथिको जनसङ्ख्या झण्डै ९९ हजार रहेको अनुमान छ ।
स्वास्थ्य शाखाका अनुसार कोभिशिल्ड/एस्ट्राजेनिका खोपको दुवै मात्रा आठ हजार ९६०, जोनसन खोप सात हजार ६१० ले लगाएका छन् । यस्तै भेरोसेलको दुवै डोज लगाउने सङ्ख्या ७० हजार ८९३ रहेको छ । बाह्र वर्षमाथि १८ वर्षसम्मका विद्यार्थीलाई लगाइएको मोडर्ना खोपको पहिलो मात्रा झण्डै १० हजारले लगाएका छन् भने यो खोप लगाउने क्रम जारी छ । रोजगारी वा अध्ययनका लागि तेस्रो मुलुक जानेको लागि वडा नं ५ को सहरी स्वास्थ्य केन्द्रमा हरेक हप्ताको सोमबार कोरोनाविरुद्धको जोनसन खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
नगरपालिकाले खोप लगाउन छुटेका लक्षित समूहका नगरवासीलाई मणिग्रामस्थित वडा नं ५ को सहरी स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेको छ । अहिले कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको सङ्क्रमण समुदायस्तरमा फैलिएको र यो विगतका भेरियन्टभन्दा बढी सङ्क्रामक भएको विज्ञले बताएका छन् । कोरोना भाइरसले खोप लगाएकाभन्दा नलगाएका व्यक्तिलाई बढी प्रभावित बनाउने भएकाले खोपलाई विशेष महत्व दिने गरिएको छ ।
नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण रोक्न पूर्वतयारी थालेको तिलोत्तमाले जनस्वास्थ्यका मापदण्ड अपनाउन, घरबाहिर निस्कँदा अनिवार्यरूपमा मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, भीडभाड नगर्न सम्पूर्ण नगरवासीमा अनुरोध गरेको छ । तिलोत्तमा नगरस्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाको जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्णरूपमा कार्यान्वयन गर्ने/गराउने निर्णय गरेको थियो । बैठकको निर्णयअनुसार केउलानीमा रहेको अस्थायी कोरोना अस्पताललाई थप स्तरोन्नति गरी स्वास्थ्यकर्मीलगायत आवश्यक उपकरण, स्रोत–साधन र जनशक्तिको पूर्वव्यवस्थापन गरिएको छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया