कोभिड-१९

तत्काल लकडाउन हुँदैन : स्वास्थ्य मन्त्री खतिवडा

इकागज |
पुस २९, २०७८ बिहीबार १६:१५ बजे

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकार तत्काल लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन्।

बिहीवार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरे पनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताएका हुन्।


उनले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने बताए। मन्त्री खतिवडाले सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोले लकडाउन हुन्छ भनेर आत्तिनु नपर्ने बताए।

‘सुरुका बेलामा आतंक बढी भएको हुनाले एक, दुई वटा सामान्य लक्षण देख्दा पनि यसको उपचार लकडाउन भनेर गर्‍यौं । जति जानेको थियो त्यति गर्‍यौं ,’ उनले भने, ‘विश्वमा, युरोपेली देशहरुमा लकडाउन भनेको सुन्यौँ, यो नयाँ कुरा भयो, त्यसैअनुसार गर्‍यौं । हामी पनि आतंकित भयौँ ।’ उनले हामी आत्तिएर, मात्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा नभएकोमा जोड दिए । 

‘आवश्यकता हेरेर खास ठाउँमा त्यो विचार पुर्याएर हामी लकडाउन गर्नेछौँ,’ उनले भने, ‘सजिलैसँग लकडाउनमा जाँदैनौँ । आवश्यक्ताअनुसार ठाउँ विशेष गर्न सक्छौँ।’

सबै ठाउँमा आइसोलेशन वार्डहरु, आईसीयू, अक्सिजन, पहिलो भेरियन्टको बेला भन्दा दुई तीन गुणामाथि इक्वीपमेण्ट र टेण्ट भएका तयार गरिएको उनको भनाइ छ।। नागरिकलाई असजिलो पर्दा सरकार तयारीका साथ बसेको उनले दावी गरे।

मन्त्री खतिवडाले कोरोनाको तेस्रो भेरियन्टबाट बच्न होशियार रहनुपर्ने भन्दै मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गरे । मन्त्री खतिवडाले विज्ञहरुले बुस्टर डोज लगाएपछि तेस्रो भेरियन्टबाट बच्न सहज हुने बताएकोले आउँदो माघ पहिलो हप्ताबाट अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई बुस्टर डोजको व्यवस्था गरिएको जानकारी दिए। 

मन्त्री खतिवडाले स्वास्थ्यकेन्द्र जानका लागि सहज बनाउन सरकारले विद्यालयलाई नै खोप केन्द्र बनाएको उल्लेख गर्दै नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरेका छन्।


Author

थप समाचार
x