सुदूरपश्चिम प्रदेशमा ‘बुस्टर डोज’ कार्यक्रम सञ्चालन हुन सकेन
काठमाडौं – समयमै खोपको व्यवस्थापन गर्न ढिलाइले सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस विरुद्ध दिइने तेस्रो मात्राको खोप (बुस्टर डोज) कार्यक्रम अझैँ सञ्चालन हुन सकेको छैन ।
सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले केन्द्रबाट खोपको मात्रा पुग्न ढिलाइ हुँदा तोकिएको समयभित्र खोप कार्यक्रम सञ्चालन गर्न नसकिएको बताए। ‘‘बुस्टर डोज लगाउन खोपको मात्रा आज मात्रै पुगेको हो ।’’,
बुस्टर डोजको रुपमा खोपको मात्रा लगाउन केन्द्रबाट कोभिशिल्ड एक लाख पाँच हजार मात्रा र भेरोसेल ५१ हजार मात्रा प्राप्त भइसकेको प्रवक्ता कार्कीले जानकारी दिए । पहिलो र दोस्रो मात्रा (पूर्ण खोप) पाइसकेकामा रोग प्रतिरोधीको थप क्षमता बढाउन तेस्रो मात्राको रुपमा (बुस्टर डोज) खोप सञ्चालन गर्ने कार्यक्रम छ ।
पहिलो चरणमा यसअघि पूर्ण खोप लगाएर कोरोना रोकथामका लागि अग्रपङ्क्तिमा खटिएकालाई बुस्टर डोज दिइने जनाइएको छ । बुस्टर डोजको यो खोप कार्यक्रम यही माघ २ देखि सञ्चालन गर्ने तयारी थियो । यही माघ १४ गतेपछि पूर्ण खोप पाएका ६० वर्ष माथिका व्यक्तिलाई भेरोसेल खोप लगाउने तयारी छ ।
कोरोना सङ्क्रमण दर एकाएक उकालो लागेसँगै खोप लगाउने दर पनि पछिल्ला दिनमा बढेको स्वास्थ्य निर्देशनालय दिपायलका खोप सम्पर्क व्यक्ति मीनराज जोशीले बताउनुभयो । प्रदेशमा हालसम्म खोप दिनुपर्ने लक्षित जनसङ्ख्या २२ लाख ८३ हजार ३८८ मध्ये ५९ प्रतिशतले पूर्ण मात्राको खोप पाइसकेको जनाइएको छ । १२ देखि १७ वर्ष उमेर समूहका ६४ प्रतिशतले पहिलो मात्राको खोप पाइसकेका छन् । उनीहरुलाई दोस्रो मात्राको खोप दिने समय पूरा भएपछि दोस्रो खोप दिने तयारी गरिएको छ ।
एकतिर कतिपय नागरिकले खोप लगाउन आनाकानी गरेको र अर्कोतर्फ खोप लगाउन आवश्यक पर्ने सिरिञ्जको अभावसमेत देखिएपछि तीन हप्ताअघि सम्म खोप सञ्चालनको काम केही सुस्त देखिएको थियो । भारतबाट भित्रिनेलाई सीमा नाकामै एन्टिजेन परीक्षण गरेर खोप नपाएकालाई एक मात्र खोप दिएर पुग्ने खोप लगाउने गरिएको छ । आगामी चैत्र महिनासम्म लक्षित सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य सरकारको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले कोरोना रोकथामका लागि प्रदेशका चारवटै मुख्य सीमा नाकालाई पहिलेको भन्दा व्यवस्थित बनाइएको बताए।
उनले भने, ‘‘पहिलेभन्दा सीमा नाकामा भारतबाट भित्रिनेको परीक्षणको दायरा बढाएका छौँ । यस्तो व्यवस्था देशका अरु प्रदेशका सीमा नाकामा भइरहेको देखिँदैन ।’’ भारतबाट नेपाल भित्रिनेको सम्पर्कमा आउनेको गर्नुपर्ने ‘कन्ट्याक्ट ट्रेसिङ’ र भित्रिनेलाई समयमै क्वारेन्टिन अथवा आइसोलेशनमा राख्नमा देखिएको कमीकमजोरीले कोरोना समुदायस्तरसम्म फैलिएको स्वास्थ्यकर्मीको भनाइ छ । कन्ट्याक्ट ट्रेसिङ गर्ने कामको जिम्मेवारी पालिकालाई दिइएको छ तर धेरै पालिकामा यो काम प्रभावकारी भएको देखिँदैन ।
कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सुरुका वर्षको तुलनामा हाल अस्पताल र स्वास्थ्य संस्थाले आवश्यक पूर्वाधार निर्माणमा जुटेको भएपनि दक्ष जनशक्तिको भने अझैँ अभाव रहेको जनाइएको छ । पछिल्लो २४ घण्टामा यो प्रदेशमा ४८८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै यो प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या ५१ हजार ५२१ पुगेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया