कोभिड-१९

भिडभाड हुने कार्यक्रममा प्रशासनले लगायो राेक, हलेसी मन्दिरमा नित्य पूजामात्रै

इकागज |
माघ ६, २०७८ बिहीबार १२:२० बजे

फाइल फाेटाे

खोटाङ- कोभिड-१९ को संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले भिडभाड हुने खालका कार्यक्रम गर्न रोक लगाएकाे छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालको संयोजकत्वमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को बैठकले जिल्लामा सबै प्रकारका आमसभा, जुलुस वा धेरै मानिस भेला हुने क्रियाकलाप नगर्ने/नगराउने निर्णय गरेको हो । 

कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले गोष्ठी, सेमीनार, बैठक जस्ता कार्यक्रम भर्चुअल माध्यमबाट गर्ने, भौतिक रुपमा उपस्थित भएर गर्नुपर्ने अवस्थामा जनस्वास्थ्यका मापदण्ड पालना गर्नेगरी बढीमा २५ जना (कोभिड-१९ विरुद्धको खोपको पूरा मात्रा लगाएका व्यक्ति) मात्र सहभागी हुनेगरी गराउन सकिने निर्णय गरेको छ । कोभिड संक्रमणको खतरा दिनानुदिन बढिरहेको अवस्थामा कोभिड संकट व्यवस्थापन केन्द्रले दोहोरी, नाचघर, हेल्थक्लव, फुटसल, हाटबजार र मानिसको भीडभाड हुने सबै प्रकारका कार्यक्रममा रोक लगाएको छ । 


यस्तै, जिल्लाका १० वटै स्थानीय तहका विभिन्न स्थानमा समय–समयमा लाग्ने हाटबजार अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने, जनस्वास्थ्यका मापदण्ड पालना गर्नेगरी प्रमुख जिल्ला अधिकारीको पुर्वस्वीकृति लिएर मात्र विवाह, व्रतबन्ध, न्वरान तथा पास्नी जस्ता धार्मिक, साँस्कृतिक, सामाजिक वा अन्य कार्यक्रम सञ्चालन गर्ने, जनस्वास्थ्यका मापदण्डको पालना गर्दै बढीमा २५ जनाको सहभागीता रहने गरी धार्मिक वा साँस्कृतिक जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान, मृत्यु संस्कार लगायतका क्रियाकलाप सञ्चालन गर्ने/गराउने निर्णय गरिएको छ ।

हलेसी मन्दिर लगायत सबै मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च, लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने/गराउने, आगामी ७ माघदेखि जिल्लाका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने, साथमा खोप कार्ड नभएको अवस्थामा मोबाईलमा खिचेको फोटो देखाउनुपर्ने निर्णय गरिएको प्रजिअ दाहालले जनाए । 

यस्तै, डिपार्टमेन्ट स्टोर, सुपरमार्केट वा अन्य प्रकारका पसलमा एक पटकमा १० जनाभन्दा बढी उपस्थित हुन नहुने, दुई व्यक्तिको बीचमा कम्तीमा दुई मिटर दुरी कायम गर्ने, मास्क अनिवार्य लगाउने, पटक-पटक साबुन पानीले हात धुने वा सेनिटाइज गर्नेगरी सञ्चालन गर्ने निर्णयमा भनिएको छ ।

 


Author

थप समाचार
x