कोभिड-१९

बैतडीमा खोप कार्ड अनिवार्य, आलोपालो सेवा लागू

इकागज |
माघ ८, २०७८ शनिबार १३:५९ बजे

बैतडी - कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि यसको रोकथाम तथा न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय बैतडीले सेवाग्राहीलाई खोप कार्ड अनिवार्य र आलोपालो सेवा लागू गरेको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबारदेखि यहाँका पालिकाका नागरिकलाई बारअनुसार सेवा र खोप कार्ड अनिवार्य गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए।
     
आइतबार शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ भने सोमबार मेलौली नगरपालिका र सिगास गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ । यस्तै, मङ्गलबार दोगडाकेदार गाउँपालिका र डिलासैनी गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ भने बुधबार सुर्नया गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ ।     
     
बिहीबार पाटन नगरपालिका र शुक्रबार दशरथचन्द नगरपालिकाका नागरिकलाई सेवा दिइने जिप्रकाद्वारा जारी सूचनामा उल्लेख छ । पुर्चौंडी नगरपालिकाको हकमा भने इलाका प्रशासन कार्यालय हाटबाटै नागरिकता प्रदान हुनेछ ।     
     
यसैबीच, कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि प्रशासनसहित सबै सरकारी कार्यालयका सेवा प्राप्त गर्न कोरोनाविरुद्धको पूर्ण खोप लगाएको कार्ड अनिवार्य गरिएको हो । गृह मन्त्रालयको निर्देशनानुसार शुक्रबारदेखि सरकारी कार्यालयमा सेवा लिनका लागि पुग्ने नागरिकले अनिवार्य रुपमा पूर्ण खोप लगाएको खोप कार्ड साथमा राख्नुपर्ने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । उनले ने, “कोरोना सङ्क्रमणको जोखिम कम गर्न र खोपमा सबैको पहुँच पु¥याउन हामीले खोप कार्ड अनिवार्य गरेका हौँ ।”     
     
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिन थालेपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका तर्फबाट हरेक स्थानीय तहमा आइसोलेसन कक्षको व्यवस्थापन गर्न पनि आग्रह गरिएको छ । जिल्ला सदरमुकाममा जिल्लास्तरीय आइसोलेसन निर्माणका लागि दशरथचन्द नगरपालिकालाई पनि आग्रह गरिएको छ ।     
     
घरबाहिर वा सार्वजनिक स्थलमा जाँदा, सार्वजनिक यातायातमा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम लगायतका स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आह्वान गरिएको छ । यस्तै, कोरोनाको जोखिम कम गर्नका लागि २५ जनाभन्दा बढी भेला नहुन भनिएको छ भने सामाजिक दूरी कायम गर्न पनि आग्रह गरिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले बताए। “सङ्क्रमणको जोखिम कायमै छ, स्वास्थ्यका मापदण्ड पालना गर्न अनिवार्य छ ।”  उनले भने।
     
यसैबीच, कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेसँगै सीमानाका झुलाघाटमा हेल्थ डेस्क स्थापना गरी नेपाल भित्रिने सबै नागरिकको अनिवार्य रुपमा कोरोना भाइरस परीक्षण गरिँदैछ ।



Author

थप समाचार
x