कोभिड-१९

मनाङमा हिमपातमै बुस्टर खोप अभियान

इकागज |
माघ ८, २०७८ शनिबार १९:१२ बजे

फाइल फोटो

चामे : मौसम बदली भएपछि हिमाली जिल्ला मनाङमा भारी हिमपात भएको छ । हिमपातकै अवस्थामा पनि यहाँ कोभिड–१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान सञ्चालन भइरहेको छ । 

कोभिशिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर छ महिना पूरा भएका नागरिकका लागि कोरोना सङ्क्रमणविरुद्धको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउन अतिरिक्त खोपको रुपमा ‘बुस्टर’ खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । कोभिशिल्ड र भेरोसेल खोप उपलब्ध भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए । 


उहाँका अनुसार यसअघि १२ देखि १८ वर्षमुनिका बालबालिकालाई मोडर्ना खोप लगाइएकामा दोस्रो मात्राको सो खोप पनि जिल्लामा आइसकेको छ । प्रमुख आचार्यले बुधबार सदरमुकाम चामेस्थित रण दल गुल्ममा नेपाली सेना र सशस्त्र प्रहरी तथा जिल्ला अस्पतालमा स्वास्थ्यकर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई बुस्टर खोप लगाइएको बताए । माघ ६ गते जिल्ला अस्पतालमा सार्वजनिक सेवामा खटिने व्यक्तिलाई बुस्टर खोप लगाइएको थियो ।

हिमपातका बीच मनाङमा बुस्टर खोप अभियान सञ्चालन भइरहेको छ । नासों गाउँपालिकामा तोकिएका केन्द्रमार्फत माघ ७ गते लक्षित सबै वर्गका व्यक्तिलाई बुस्टर डोज खोप लगाइएको जनाइएको छ  । माघ १० गते चामे गाउँपालिका, माघ २० गते मनाङ ङिस्याङ गाउँपालिकामा बुस्टर डोज खोप लगाइने स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । बढी चिसोका कारण नार्पाभूमि गाउँपालिकामा भने समय तोक्न सकिएको छैन ।

जाडोका कारण नार्पाभूमिवासी जिल्लामा नरहेकाले पनि समय तोक्न नसकिएको हो । “नार्पाभूमिवासी फागुन महिनाको दोस्रो सातामात्रै जिल्ला फर्कने भएकाले उनीहरु फर्किनासाथ बुस्टर डोज खोप लगाउने व्यवस्था गरिएको छ”, आचार्यले भने । 

मनाङ सबैभन्दा पहिलो कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला हो । विसं २०७७ माघ महिनामा नै १८ वर्षमाथिका उमेर समूहका मनाङ जिल्लावासीले पूर्ण मात्रा खोप लगाइसकेका छन् । बाह्रदेखि १७ वर्ष उमेर समूहका बालबालिका सबैलाई भने खोप लगाइसकिएको छैन । हिउँदमा चिसोका कारण जिल्ला बाहिर बसाइँ जाने भएकाले बालबालिकालाई खोप लगाउन नसकिएको स्वास्थ्य प्रमुख आचार्यले बताए । 

जिल्लाका तीन स्थानीय तहका १२ देखि १८ वर्षमुनिका बालबालिकाले मोडर्नाको पहिलो डोज खोप लगाएका थिए । तर नार्पाभूमि र माथिल्लो मनाङका बालवालिकाले भने मोडर्ना खोप लगाउने मौका पाएनन् । पहिलो मात्रा खोप लगाएका बालबालिकालाई बुस्टर डोज लगाइसकेपछि दोस्रो मात्रा लगाउने तयारी गरिएको उहाँले जानकारी दिए । 

हिउँदयामको अत्यधिक चिसो र हिमपातका कारण स्थानीय नागरिकसँगै त्यहाँका बालबालिका बँेसी झरेकाले त्यहाँ मोडर्ना खोप अभियान प्रभावित बनेको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । रासस 


Author

थप समाचार
x