कोभिड-१९

संक्रमण दर घट्दो, खोप अभाव छैन : मन्त्रालय

इकागज |
माघ २१, २०७८ शुक्रबार १५:३३ बजे

काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दै गएको बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले नेपालमा कोरोना भाईरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दो अवस्था रहेको जानकारी दिइन् । उनले पहिले एक जना मान्छेमा भएको भाईरस ३ जनामा सर्ने गरेकोमा अहिले त्यो दर विस्तारै घटिरहेको स्पष्ट पारिन् । प्रवक्ता मिश्रले छिमेकी मुलुक भारतको आन्ध्र प्रदेशबाहेक अन्य राज्यहरुमा पनि ओमिक्रोनको संक्रमण दर घटीरहेको र त्यसको प्रभाव नेपाल परेको तथ्य पनि स्मरण गराइन् । 


‘भाईरसले संक्रमण गर्ने दर जुन पहिले थियो, जस्तो एउटा भाईरसले कुनै एउटा प्रदेशमा एउटा संक्रमित मान्छेले ३ जनालाई संक्रमित गथ्र्यों भने त्यो दरचाँही अब विस्तारै घटिराखेको छ’ उनले भनिन्, ‘यो अवस्था सबै प्रदेशमा छ। संक्रमण दर डिक्रिजिङ अवस्थामा छ।’

इन्डियामा पनि आन्ध्र प्रदेशबाहेक सबै राज्यको संक्रमण दर विस्तारै घटिरहेको अवस्था छ। ‘सोही अनुसार हाम्रो पनि संक्रमण दर घटिराखेको छ’ उनले भनिन्, ‘तथापि सतर्कता अनिवार्य छ । बढि सतर्कता अपनाएर पनि यसको दर घटेको हुन सक्छ।’ 

यस्तै नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन अभाव नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता मिश्रले नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन कुनै कमी नहुने गरी आवश्यक व्यवस्था गरिएको बताइन् । उनका अनुसार खोपको अभाव हुन नदिन प्रदेश स्तरमै भण्डार केन्द्रहरुको व्यवस्था भएको र हुँदै गएको बताइन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउने र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न पनि सबै नागरिकलाई पटकपटक अपिल गर्दै आएको छ। 
 


Author

थप समाचार
x