खोप कार्ड किन अनिवार्य ?
काठमाडौँ – सबै नागरिकको पहुँचमा कोभिडविरुद्धको खोप पु¥याउनका लागि खोप कार्ड नभएकाहरुलाई सार्वजनिक सेवा नदिने नीति लिनु परेको सरकारले स्पष्ट पारेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्रले कोभिडविरुद्धको खोप लिन मानिसहरु नआउने क्रम बढेपछि सरकारले उनीहरुलाई खोपको दायरामा अनिवार्य रुपमा ल्याउनका लागि यस्तो नीति लिनुपरेको प्रस्ट्याएकी हुन्।
उनले यो नीति लिएपछि कोभिडविरुद्धको खोप लगाउनेहरुको भीड नै लाग्न सुरु गरेको जानकारी दिइन्। प्रवक्ता मिश्रले सरकारले लिएको यो नीति मिडियामा आएजस्तो नागरिकलाई खोपबाट बञ्चित गराउन वा कसैमाथि विभेद गर्न नभएको स्पष्ट पारिन्।
‘खोप कार्ड अनिवार्य किन गर्यो भनेर हामीले बुझ्नुपर्दछ। यो जनतालाई सास्ती दिन अवश्य पनि होइन। विगतको अनुभवले के देखाएको छ भने खोपको दर बढाउँदा पनि कतिपय व्यक्तिहरु खोप लिन नआएको अवस्था पनि छ’, उनले भनिन्, ‘यदि ओमिक्रोनभन्दा पहिलाको तथ्यांक हेर्ने हो भने खोप केन्द्र सञ्चालन गर्दा पनि मान्छे खोप लिन नै आएनन्। ओमिक्रोनको संक्रमढा बढिरहँदाखेरी खोप लिनलाई भीड भयो। अर्को कुरा के भनिएको छ भने कुनै सार्वजनिक सेवा दिने संस्थाको छेउमा लगभग आधी घण्टाभित्र वा नजिकै खोप केन्द्र हुनुपर्छ। त्यो हिसाबले यदि ऊसँग खोप कार्ड छैन भने पहिले गएर खोप लिन्छ अनिमात्रै सेवा लिन आउँछ भन्ने कुरामात्रै हो। यो खोपमा पहुँच बढाउन राज्यले लिएको नीति हो। यो मिडियामा प्रचार भएजस्तो कसैलाई विभेद गर्न वा सेवा निषेध गर्नका लागि लिएको होइन।’
सार्वजनिक सेवा दिने ठाउँ नजिकै कोभिडविरुद्धको खोप केन्द्रको व्यवस्था गरेर सो सेवा लिनुअघि कोभिडविरुद्धको खोप लिन सहज हुने व्यवस्था सरकारले गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाइ छ।
प्रवक्ता मिश्रले इम्युनिटी रेस्पोन्स गर्न सहज हुने भएकाले जुनसुकै खोप लगाएका नागरिकहरुले पनि बुष्टर खोपको लागि फरक खोप लगाउन पाउनेगरी पछिल्लो निर्णय आएको पनि स्पष्ट पारिन्।
कोभिडको ‘रिसर्च’ र ‘डाटा’ दैनिक परिवर्तन हुने भएकाले यसका निर्णयहरु पनि नेपाल सरकारले परिवर्तन गरिरहनुपरेको सरकारको स्पष्टीकरण छ। प्रवक्ता मिश्रले गत माघ ७ गते बसेको डब्लूएचओअन्तर्गतको स्ट्राटिजिक एडभाइजरी बोर्डको बैठक र त्यसलगत्तै बसेको राष्ट्रिय खोप सल्लाहकार समितिको बैठकले नै भेरोसेल वा जुनसुकै खोप लगाएको भए पनि बुष्टर खोप लगाउँदा हुने निर्णय गर्नुपरेको बताइन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न र कोभिड खोप लगाउन सबै नागरिकलाई पटक–पटक अपिल गर्दै आएको छ। प्रवक्ता मिश्रले त्यसका लागि खोपको अभाव नहुने स्पष्ट पारिन्।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया