शव व्यवस्थापन गर्ने सैनिकले समेत पाएनन् कोरोना बीमा
फाइल फाेटाे
काठमाडौं- कोरोना महामारी नियन्त्रण गर्न अग्रपंक्तिमा खटिएको नेपाली सेनाले संक्रमित भएपछि पाउने बीमा रकम नपाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयलाई गुहारेको छ । कोरोना संक्रमणका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका सेना संक्रमित हुँदा समेत बीमा रकम पाउन सकेका छैनन् ।
नेपाली सेनाले रक्षा मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेखि बीमा बापतको रकम उपलब्ध गराइदिन आग्रह गरेको हो । संक्रमित भएका सैनिकले बीमा रकम दाबी गरेको लामो समय बितिसक्दा पनि पाउन सकेका छैनन् । बीमा रकम निकासा नभएपछि सेनाले सहजीकरण गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालय गुहारेको हो ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी नारायण सिलवालका अनुसार हालसम्म ५ हजार ८६९ जना सैनिकले कोरोना संक्रमण भएवापत बीमा रकम दाबी गरेका छन्। ‘बीमाको लागि आवेदन दिनेमध्ये ५ हजार ४६५ जनाको फाइल स्वीकृति भएको छ भने ४०४ जनाको फाइल स्वीकृत हुने क्रममा छ,’ सैनिक प्रवक्ता सिलवालले भने।
बीमा दाबी गर्नेमध्ये हालसम्म ९०१ जना सैनिकले मात्रै बीमा वापतको रकम प्राप्त गरेका छन्। बीमा वापत प्रत्येकलाई एक लाख रुपैयाँ उपलब्ध गराइएको छ। अर्थात हालसम्म कोरोना संक्रमण भएकामध्ये ९०१ सैनिकले ९ करोड १ लाख रुपैयाँ प्राप्त गरेका छन्।
सैनिक प्रवक्ता सिलवालका अनुसार अझै ४ हजार ५६४ जना सैनिकले कोरोना बीमा वापतको रकम पाएका छैनन् । उनीहरूले पाउनु पर्ने बीमा रकम ४५ करोड ६४ लाख रुपैयाँ रहेको छ ।
कोरोना महामारी नियन्त्रणमा नेपाली सेनालाई अग्रपंक्तिमा खटाइएको थियो। चीनबाट उद्धार गरी नेपालीलाई स्वदेश फर्काउने, क्वारेन्टिन सञ्चालन गर्ने, क्वारेन्टिन निर्माण गर्ने, कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनसम्मको जिम्मेवारी सेनालाई दिइएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया