कोभिड-१९

भीडमा पनि एक्लो, आइसोलेसनमा पनि एक्लो

कञ्चन रावत |
फागुन ४, २०७८ बुधबार १६:१६ बजे

घाम ताप्दै, वरिपरिको हरियो जंगल र नीलो आकाश नियालिरहेको थिएँ । नीलो आकाशमा ढाकिएको बादल दहीको चाक्ला जस्तो कप्लक्क खाँउ–खाँउ लाग्ने देखिएको थियो । चराको चिरबिर आवाजले मेरो ध्यान बादलबाट रुखको हाँगोमा केन्द्रित भयो । जहाँ केही चरा यताउता गर्दै केही संवाद गरिरहेका थिए  । 

यत्तिकैमा मेरो फोनको घन्टी बज्यो ।  ‘के गर्दै हुनुहुन्छ, आरामै हुनुहुन्छ कञ्चन जी ?,’ उताबाट आवाज आयो । ‘रुघाखोकीले सताइरहेको थियो, अहिले त ठिकै छु,’ मैले भने । उनले आफ्नो एक जना साथीलाई मनोपरामर्श गरिदिन आग्रह गरिन् । मैले सहर्ष स्वीकारेँ । मनोपरामर्श गर्नुपर्ने व्यक्तिको सम्पर्क नम्बर मागेँ । हुन त मनोपरामर्शमा जबसम्म सेवाग्राही स्वेच्छाले सहयोग माग्न आउँदैन, आफैँले समस्या के छ भनेर अनावश्यक चासो राख्नुहुँदैन । कसैको समस्याबारे जान्नुअघि सेवाग्राहीसँग राम्रो सम्बन्ध स्थापित गर्नुपर्छ । यसरी मनोपरामर्श गर्दा दिगो समाधान मिल्छ । तर, यसपटक मलाई आफैँ फोन गर्न मन लाग्यो । मेरो उद्देश्य केवल हालखबर सोध्ने थियो । फोन डायल गरेँ, ‘आरामै छौँ ?’, मैले सोधेँ । ‘ठीक हुँदैछु,’ निकै मलिन आवाजमा जवाफ आयो । ‘तिमीलाई कोरोना संक्रमण भएको थाहा पाएँ, त्यसैले कल गरेको,’ मैले भने । उनले जवाफ दिइन्, ‘हो लागेको छ । पहिलाभन्दा केही सुधार भएको छ  । तर, पटक्कै निद्रा लागिरहेको छैन ।’ यसबाहेक टाउको दुखेको र शरीर गलेको पनि उनको गुनासो थियो । 


‘तिमीलाई निद्रा नलागेको कति दिन भयो ?’ मैले निद्राको कुरामा थप चासो राखेँ । उनले भनिन्, ‘चार दिन भयो निद्रै लागेको छैन ।’ निद्रा नलागे पनि उनी आँखा चिम्म गरेर निदाउने कोसिस गर्दिरहिछन् तर, गहिरो निद्रा नपर्दो रहेछ । 

मैले फेरि सोधेँ, ‘निद्रा नलाग्नुको कारण के हो जस्तो लाग्छ ?’ ‘थाहा छैन । तर, पटक्कै आँखा जोडिदैन,’ भारी आवाजमा जवाफ आयो । मैले अनुमान गरेँ यो आवाजभित्र धेरै पीडा लुकेका छन् । तर, उनी व्यक्त गर्न चाहँदिनन् । त्यसलाई उनी जीवनको एउटा अव्यक्त कथा बनाएर लुकाउन खोजिरहेकी छिन् । मनको स्वभावै हो, उनको माया लाग्यो । भेट्न मिले, विभिन्न टेक्निक लगाएर भए पनि म उनलाई सहयोग गर्थेँ । तर, कोभिडको अवस्था थियो । केवल मनको पीडा पोखाउन सके मात्र पनि उनलाई ठूलो राहत हुनेवाला थियो । 

निद्रा नलाग्नुको कारण व्यक्त गर्न उनलाई कठिनाइ भएको पनि मैले महसुस गरेँ ।  कहिलेकाहीँ गहिरा भावनाहरू सजिलै व्यक्त गर्न सकिन्न । अरुले बुझ्दैन कि भन्ने डर हुन्छ । तर, यिनै समस्या कतिबेला मनोसामाजिक रोग बन्छन्, पत्तै हुँदैन । त्यसमा पनि नेपाल जस्तो देशमा मनको पीडा धेरैलाई कुनै समस्या नै लाग्दैन । सुन्नेले सजिलै ‘बहाना हो’ नाममा खारेज गरिदिन्छन् । तर मनोसामाजिक लक्षणहरू मनका सवाल हुन् जहाँ अभिव्यक्ति, माया र समाधानका लागि सहयोगको खाँचो पर्दछ ।  

उनको बैचेनी खोतल्ने मेरो प्रयास जारी थियो । मैले उनलाई सोधेको थिएँ, ‘तिमीलाई निद्रा नलाग्ने कारण के होला ?’ उताबाट सिधा जवाफ आएन तर उनले भनेको कुराबाट म महसुस गर्न सक्थेँ, सधैँ गरेको काम गर्न नपाउँदा उनमा छटपटी बढेको थियो । उनको गुनासो थियो, ‘अहिलेसम्म कहिले पनि यसरी केही नगरीकन बसेको थिइँन । बिहे भएको यत्रो वर्ष भयो यति लामो बिरामी पनि भएकी थिइँन । आज कस्तो–कस्तो भइरहेको छ । बिहान एकछिन कम्प्युटर खोलेर काम गर्न थालेँ, तर जीऊ दुखेर खपी नसक्नु भयो । पहिलो र दोस्रो कोरोनाकालमा त यसरी नै काम गरेकी थिएँ ।’

उनलाई प्रेरित गर्न मैले सोधेँ, ‘तिमीलाई के लाग्छ तिमीले काम नगर्दैमा त्यो अफिस बन्द हुने हो र ?’ ‘त्यो त हुँदैन,’ जवाफसँगै उनको हाँसो पनि आयो । उनको हाँसोले मलाई पनि हँसायो । मनै न हो, उनलाई हँसाउन पाएकोमा क्षणभर नै सही दङ्ग परे । 

हाँसोले उनलाई खुल्न सजिलो बनाएको महसुस गरेँ । उनले पहिले पहिले तनाव हुँदा पनि बेवास्ता गरेर काम गर्ने गरेको तर शरीर कमजोर भएपछि चाहिँ थुनेर राखेका भावना पनि बाहिर निस्कन खोजेको अनुभव सुनाइन् । 

‘मलाई अचम्म लगेको कुरा म आइसोलेसनमा बस्दा सबै बन्द भएको होला भन्ने लाग्थ्यो तर केही पनि बन्द भएको रहेनछ । मैले काम नगरे कसरी होला र ? कसले गर्ला भनेर तर, भनेको जस्तो होइन रहेछ । जे हुनु छ भई नै हाल्दो रहेछ । केही नगर्दाको छटपटी के हो पत्तै लगाउन सकेको छैन,’ उनले एकै सासमा सुनाइन् ।  

उनले यही बीचमा आफैँले आफूलाई समय नदिएको भावना पनि अभिव्यक्त गरेकी थिइन् । हो, हामी धेरै कुराहरूलाई सही शब्दमा अभिव्यक्त गर्न सक्दैनौँ । उनले ‘समय नदिएको’ कुरा गर्दा म बुझ्थेँ ।

‘आफूलाई समय नदिएको भनेको आफू भित्र उठेका संवेग, रिस, डाह, पिर, दुःख व्यक्त नगरेको हो । रुन मन लागेको बेलामा ढुक्कले नरोएकोे हो । हाँस्न मन लागेको बेला खित्का छोडेर नहाँसेको र रिस उठेको बेला मज्जाले नरिसाएको हो । अनि यसो गर्नलाई धेरैजसो समय हामीलाई मनले रोक्छ । तर, मनले रोकेको हैन समाजले रोकेको हो । 

मलाई एकै सासमा यो सबै कुरा उनलाई बताउन मन थियो । तर, हाम्रो सम्बन्ध एक फोनको मात्र भएकाले यी सबै कुरा भनिहाल्ने अवस्था थिएन । मैले भनिहाले पनि सायद उनले बुझिहाल्ने अवस्था नहुनसक्थ्यो । 

म बुझ्थेँ उनलाई सधैँको धपेडीयुक्त जीवनबाट मिलेको छुटकारा खर्च गर्न सकस भइरहेको थियो । सधैँ व्यस्त रहने उनलाई अचानक फुर्सद हुँदा त्यो फुर्सद कहाँ खर्च गर्ने मेसो मिलिरहेको थिएन । यसैले उनलाई बैचेन बनाएको थियो । 

‘सधैँ समयको अभाव हुन्थ्यो । आज मसगँ फुर्सदै फुर्सद छ । केही नगरेको जस्तो, नपुगेको जस्तो, सदुपयोग नभए जस्तो भएकोले मेरो मन आत्तिएको छ,’ अन्ततः उनको गाँठो फुक्न थालेको थियो ।  

उनले त्यसो भनिरहँदा गुरु ओशोको भनाइ मनमा खेलिरहेको थियो । ओशो भन्नुहुन्छ, ‘हामी सधै केही न केही गरिरहेका हुन्छाै । हाम्रो मन कुनै न कुनै विषयवस्तुमा अल्झिरहेको हुन्छ, यही विषय वस्तुले मनमा प्रभाव पारिरहेको हुन्छ । अर्को शब्दमा भन्दा मन सधैँ हाम्रा इन्द्रीयहरूको पछाडि नै रहन्छ । यहि कारण मनमा निकै भावनाहरू, विचारहरू उठ्न थाल्छन् । मन लगातार भागिरहने हुनाले मन एक ठाउँमा टिक्न सक्दैन । मनलाई बसमा राख्न अभ्यास चाहिन्छ । मनमा उठ्ने भावनाहरू बाहिरी वस्तुको कारणले  हो । यहाँ सुख र दुःख आइरहेको हुन्छ, यो प्रति जागरुक हुनुपर्छ । जसको लागि विवेक र लामो अभ्यास चाहिन्छ ।’ 

एउटा परीक्षण गरिएको थियो । नोभेम्बर २०१८ मा अमेरिकी पोकर खेलाडी रिच अलाटीले १ लाख अमेरिकी डलरमा बाजी थापे कि उनी एक्लै  ३० दिनसम्म पूरै अँध्यारोमा बाँचेर देखाउनेछन् । उनलाई ओछ्यान, फ्रिज र बाथरुमबाहेक अरु केही नभएको सानो र अँध्यारो कोठामा राखियो । बाँच्नको लागि चाहिने सबै स्रोतहरू भए तापनि अलाटी महिनासम्म बस्न सकेनन् । उनले २० दिनपछि  ६२ हजार अमेरिकी डलर लिएर आफ्नो रिहाइको सम्झौता गरे । २० दिन स्वेच्छाले एक्लोपनमा बिताएपछि  अलाटीले आफूमा धेरै परिवर्तन आएको बताएका थिए । यो अनुभव उनले सेयर पनि गरेका छन् । उनले यो २० दिनमा आफूलाई र जीवनलाई पनि चिन्ने मौका पाएको बताएका थिए । पहिलेभन्दा झन् खुसी भएको उनको अनुभव थियो ।  

तर, अलाटीको जस्तो अनुभव सबैलाई हुन्छ भन्ने छैन । व्यक्तिपिच्छे फरक अनुभव हुन सक्छन् । लामो समयसम्म एक्लै बस्नु पर्ने चुनौतीको सामना गरेका केही व्यक्तिले आफ्नो अनुभवको परिणाम स्वरुप भावनात्मक वृद्धि, परिवार र साथीभाइसँग नजिक भएको महसुस गर्ने र जीवनप्रति राम्रो दृष्टिकोण राख्ने जस्ता व्यक्तिगत सुधार देखाउन सक्छन् । 

कोरोनापछि धेरै व्यक्तिहरूले सामाजिक सञ्जालमा लेख्ने गरेको देखिन्छ, ‘जीवन छोटो छ, किन लडाइँ–झगडा ? केका लागि ? यस्ता अभिव्यक्तिले देखाउँछ कि केही समय आइसोलेनमा बस्दा जीवनलाई अझै नजिकबाट चिन्न सकिन्छ । 

यो एक्लोपनलाई फरक-फरक दृष्टिकोणबाट हेर्न सकिन्छ र प्रयोगमा ल्याउन सकिन्छ ।  एक्लोपन सदुपयोग गर्ने केही व्यवहारिक तरिकाहरू छन् जसलाई लागू गर्न सकियो भने हामी कहिलै ‘एक्लो’ हुँदैनौँ । चाहे त्यो कोभिडका कारण आइसोलेसनमा बस्दा होस् वा चाहे मानिसको भीडमा पनि एक्लो महसुस गर्दा ।  

पहिले उपाय नियन्त्रणको घेरा बनाउने । यसको अर्थ हो जुन काम गर्न सकिन्छ त्यसलाई गर्न थाल्ने । गर्न नसकेको काममा चिन्ता नगरी विकल्प खोज्ने । उदाहरणका लागि, धेरै अघि कसैसँग मनमुटाव थियो अहिले पनि त्यही कुराले दुःख दिन्छ भने अब अहिले सबै कुरा परिवर्तन गर्न सकिन्न तर त्यो कारणले उत्पन्न चिन्तालाई कम गर्न विभिन्न उपायहरू गर्न सकिन्छ । जस्तैः लामो लामो सास फेरि तनाव कम गर्न सकिन्छ र साथै स्वस्थकर खाना  खाएर आफ्नो स्वास्थ्यको हेरचाह गर्न सकिन्छ । साथै भविष्यमा त्यसको घटना फेरि दोहोरिन नदिन घटेका घटनाबाट पाठ सिक्न सकिन्छ  । यही नै हो नियन्त्रणको घेरा जसले हामीलाई ऊर्जावान राख्छ र रोगसँग लड्न शक्ति दिन्छ । 

सामाजिक सहयोग प्रणाली पनि एउटा सारथी हो । जसले एक्लोपनलाई कम गर्न सक्छ ।  के हो त यो सामाजिक सहयोग प्रणाली ? कसरी यसले हाम्रो एकाकीपन सिर्जित तनावलाई कम गर्न मद्दत गर्छ ? 

एक्लोपन महुसस गर्नु भनेको नै मेरो कोही छैन भन्ने महसुस गर्नु हो । यस्तो अवस्थामा सामाजिक सहयोग प्रणालीले  एक्लोपन कम गर्न सहयोग गर्छ ।  जस्तै सानोमा हामीलाई कसैले कुट्यो वा गाली गर्यो भने आफ्नो दुःख व्यक्त गर्न आमा, बुवा, परिवार वा साथीको सहारा खोज्थ्यौँ ।  किनकी  उनीहरूबाट हामीले भावनात्मक सहयोग पाउँथ्यौँ । 

एक्लोपनको समस्या मसँग फोनवार्ता गर्ने गृहिणीको मात्र होइन परिवार भएर वा नभएर पनि एक्लो महसुस गर्ने सबैको हो । अहिले रोगले खाली यस्ता लक्षणलाई सतहमा ल्याउन प्रेरित गरेको हो । समस्या पहिचान भयो भने त्यसको समाधान पनि हुन्छ । झन् मनका समस्या त मनले नै निको पार्न सक्छन् जसका लागि मनोचिकित्सकको ठूलो भूमिका हुन्छ ।

(रावत कञ्चन हिलिङकी प्रवन्ध निर्देशक हुन्)


Author

थप समाचार
x