कोभिड-१९

भारतमा १६ हजार कोभिड सङ्क्रमित थपिए

इकागज |
फागुन १०, २०७८ मंगलबार ६:५७ बजे

नयाँदिल्‍ली- भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ५१ जना कोभिडका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले सोमबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा कोभिड सङ्क्रमण शुरु भएयता हालसम्म चार करोड २८ लाख ३८ हजार ५२४ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ  ।

सोही अवधिमा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या भने ३७ हजार ९०१ रहेको छ । एउटै अवधिमा कोभिडबाट नयाँ सङ्क्रमित भएकाको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । भारतमा कोभिडका चार करोड २१ लाख २४ हजार ९८४ जना सङ्क्रमण मुक्त भएका छन् ।


अधिकारीका अनुसार भारतमा अहिले कोभिडबाट सक्रिय सङ्क्रमितको सङ्ख्या दुई लाख २ हजार १३१ रहेको छ ।  पछिल्लो २४ घण्टामा मात्र २२ हजार ५६ जना सक्रिय सङ्क्रमित घटेका समाचारमा जनाइएको छ ।

कोभिडका कारण भारतमा पछिल्लो एक दिनमा २०६ को मृत्यु भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन । यससँगै भारतमा कोभिड सङ्क्रमणको कारण हालसम्म पाँच लाख १२ हजार १०९ को मृत्यु भइसकेको समाचारमा जनाइएको छ । (सिन्ह्वा) 


Author

थप समाचार
x