कोभिड-१९

केन्द्रीय कारागारका दुई हजार ७०० कैदीबन्दीलाई कोभिड-१९ विरुद्धको खोप

इकागज |
माघ २९, २०७७ बिहीबार ११:३८ बजे

फाइल तस्‍बिर

काठमाडौँ : सरकारले केन्द्रीय कारागारका दुई हजार ७०३ कैदीबन्दीलाई कोभिड-१९ विरुद्धको खोप प्रदान गरेको छ । सरकारले प्राथमिकताका आधारमा खोप प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीसँगै कैदीबन्दीलाई समेत खोप प्रदान गरेको हो । 

केन्द्रीय कारागार जगन्नाथदेवलका सूचना अधिकारी रविनकुमार राईले तीन हजार ३३६ कैदीबन्दी रहेको केन्द्रीय कारागारमा दुई हजार ७०३ कैदीबन्दीलाई कोभिड-१९ विरुद्धको खोप प्रदान गरिएको जानकारी दिए । 'खोप लगाउन नमान्ने कैदीबन्दी र विरामी कैदीबन्दीबाहेक अन्य सबै कैदीबन्दीलाई खोप प्रदान गरेका छौँ', राईले भने। 


विसं १९७१ मा स्थापना भएको मुलुककै पुरानो कारागारमा देशभरका अरु कारागारको तुलनामा धेरै कैदीबन्दी रहेका छन् । केन्द्रीय कारागार परिसरभित्र हाल केन्द्र, भद्र र महिला गरी तीनवटा जेल रहेका छन् । देशभरका कैदीबन्दीको उपचारका लागि केन्द्रीय कारागार परिसरभित्र कारागार अस्पतालसमेत सञ्चालनमा आएको छ । उक्त अस्पतालको क्षमता ३० शय्याको रहेको छ । 

मुलुककै सबैभन्दा पुरानो र ठूलो कारागारमा ७३ जनालाई कोरोना सङ्क्रमण देखिएको थियो । तीमध्ये कोभिड-१९ सङ्क्रमणका कारण सातको मृत्यु भएको सूचना अधिकारी राईले बताए । रासस


Author

थप समाचार
x