कोभिड-१९

काेभिड- १९

चिनियाँ खोप 'भेरो सेल'लाई नेपालमा प्रयोग गर्न अनुमति

इकागज |
फागुन ६, २०७७ बिहीबार १९:२० बजे

फाइल तस्बिर

काठमाडौँ : चिनियाँ कम्पनीले विकास गरेको कोभिड-१९विरुद्धको खोप ‘भेरो सेल’लाई नेपालमा आपत्कालीन प्रयोगका लागि भन्दै औषधी व्यवस्था विभागले अनुमति दिएको छ । उक्त अनुमति पाएपछि खुसी व्यक्त गर्दै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आधिकारीक पत्रसहित ट्विट गरेकी छन् । चीनको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टस कम्पनी लिमिटेड (बीआईबीपी) ले उत्पादन गरेको खोपलाई अनुमति दिइएकोे विभागले बुधबार सूचना जारी गर्दै जनाएको छ ।

चीनले नेपाललाई पाँच लाख डोज खोप अनुदानमा उपलब्ध गराउने जानकारी दुई मुलुकका परराष्ट्र मन्त्रीबीच भएको टेलिफोन वार्तापछि जारी विज्ञप्तीमा उल्लेख छ । यसअघि चिनियाँ दूतावासले एक विज्ञप्ती जारी गर्दै नेपाललाई ३ लाख डोज खोप अनुदानमा दिने उल्लेख गरेको थियो ।


नेपालमा यतिबेला भारतको सिरम इन्स्टिच्युटको ‘कोभिसिल्ड’ खोप लगाउन थालेको पनि तीन साता भइसकेको छ । विभागले भारतमा उत्पादित खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिए लगत्तै भारतबाट अनुदानमा माघ दोस्रो साता नरेन्द्र मोदी सरकारले १० लाख डोज खोप उपलब्ध गराएको थियो । सरकारले थप दशलाख डोज कोभिसिल्ड खोप भारतबाट चार डलरमा प्रति खोप खरिद गर्ने भएको छ ।   


Author

थप समाचार
x