कोभिड-१९

लकडाउन गरेको आज दुई वर्ष पूरा : ४ अर्बको मास्क नेपाल भित्रियो

इकागज |
चैत ११, २०७८ शुक्रबार १४:३० बजे

काठमाडौं- नेपालमा कोरोना महामारी नियन्त्रण गर्न पहिलो पटक लकडाउन गरेको आज दुई वर्ष पूरा भएको छ।  कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले पहिलो पटक २०७६ चैत ११ गतेबाट लागू हुनेगरी लकडाउन सुरु गरेको थियो । 

पहिलोपटक लकडाउन सुरु गरेपछिको दुई वर्षको अवधिमा नेपालमा विभिन्न देशबाट ३ अर्ब ९८ करोड ८५ लाख ८० हजार रुपैयाँको फेस मास्क भित्रिएको छ । 


भन्सार विभागका अनुसार सो मुल्यमा २०७६ चैत ११ गतेदेखि २०७८ फागुन मसान्तसम्मको अवधिमा नेपालमा ४८ करोड ९२ लाख ६ हजार ७६२ थान र एक लाख ३७० केजी मास्क भित्रिएको छ । 

कोरोना महामारी विश्वमा पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो । 

कोरोना नियन्त्रण गर्न अनिवार्य मास्कको प्रयोग गर्न नेपालमा पनि स्थानीय प्रशासनले आदेशहरु जारी गरेका थिए । मास्को प्रयोगलाई अनिवार्य गरेपछि नेपालले मास्ककाे आयात सुरु गरेको थियो । 

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ को साउनदेखि फागुन मसान्तसम्म १ अर्ब ५ करोड ४० लाख २३ हजार रुपैयाँको फेस मास्क नेपालले आयात गरेको छ । सो मुल्यमा १२ करोड ९४ लाख ४ हजार ६१८ थान मास्क नेपाल भित्रिएको छ । 

आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ५७ करोड ६५ लाख ५१ हजार रुपैयाँको मास्क नेपाल भित्रिएको विभागले जनाएको छ । उक्त मूल्यमा ३५ करोड ९८ लाख २ हजार १४४ थान र २७ हजार १७१ केजी मास्क नेपालले आयात गरेको थियो ।

आर्थिक वर्ष २०७६/७७ (चैतदेखि असारसम्म) मा नेपालमा ३५ करोड ८० लाख ६ हजार रुपैयाँको ७३ हजार १९९ केजी मास्क भित्रिएको थियो । 

नेपालमा बंगलादेश, चीन, हङकङ, भारत, जापान, दक्षिण कोरिया, मलेसिया, मेक्सिको, म्यानमार, सिंगापुर, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, टर्की, युनाइटेड अरब इमिरेट्स, अमेरिका, मियतनाम लगायतका देशबाट फेस मास्क आउने गरेको छ ।


Author

थप समाचार
x