पाकिस्तानी प्रधानमन्त्री खानलाई कोभिड-१९ संक्रमण
इस्लामावाद : पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई शनिबार कोभिड-१९ संक्रमण पुष्टि भएको छ । पाकिस्तानी सूचना मन्त्री शिब्ली फराजले जियो न्यूज टेलिभिजनसँगको कुराकानीमा प्रधानमन्त्री खानले खोप लगाउनुभन्दा पहिले नै सार्वजनिक कार्यक्रमहरूमा सक्रिय रहेकाले त्यही समय संक्रमण सरेको हुनसक्ने बताए ।
कोभिड-१९ विरूद्धको पहिलो खोप लगाएको ठीक दुई दिनपछि उनलाई सङ्क्रमण भएको पुष्टि गरिएको छ । अठ्सट्ठी बर्षीय प्रसिद्ध पूर्वक्रिकेट खेलाडीसमेत रहेका प्रधानमन्त्री खानले बिहीबार चीनमा विकास गरिएको सिनोफार्म खोप लगाएका थिए ।
पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गरी भनेको छ, “अहिले हामी यति मात्र भन्न सक्छौँ कि प्रधानमन्त्री खानलाई सङ्क्रमण पुष्टि भएको छ र उहाँले आफूलाई अन्य व्यक्तिको सम्पर्कबाट टाढा राख्नुभएको छ ।”
प्रधानमन्त्री खानलाई शनिबार हल्का खोकी र हल्का ज्वरो आएको पुष्टि उनका प्रवक्ता सहबाज गिलले गर्दै उनको शनिबार नै परीक्षण हुँदा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको बताए । प्रधानमन्त्रीलाई सङ्क्रमण पुष्टि भएपछि विगत केही दिनमा उनको निकट पुगेका व्यक्तिहरूलाई सावधानी अपनाउन भनिएको छ ।
प्रवक्ता गिलले भने, “सङ्क्रमण पुष्टि हुनुलाई खोपसँग जोडेर नहेरिदिनोस् । खोप लगाएको केही हप्तापछि मात्र शरीरमा कोभिडविरूद्धको प्रतिरक्षा प्रणाली विकास हुने हो । तपाईको मान्यजनहरू तथा प्रियजनलाई खोप लगाउने सुनिश्चित गराउनुहोस् । सचेत रहनुहोस् ।”
पाकिस्तानमा शनिबारसम्ममा छ लाख २० हजार सङ्क्रमित रहेको सरकारी तथ्याङ्क रहेको छ भने यहाँ कोभिड-१९ सङ्क्रमित १३ हजार ८०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।
पाकिस्तानले चीनबाट सहयोगप्राप्त १० लाख खोपलाई प्रथमिकताका आधारमा स्वास्थ्यकर्मी तथा अग्रपङ्तीमा खटिने कर्मचारी पत्रकारलगायतका जोखिममा रहेका व्यक्तिहरूलाई दिन सुरू गरिसकेको छ । (रासस)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया