कस्तो होला उत्कृष्ट लयमा रहेको अमेरिका र ब्याटिङको समस्यासँग जुधिरहेको नेपालबीचको भिडन्त ?
काठमाडौँ– आईसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ को त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपालले आज घरेलु टोली अमेरिकाको सामना गर्दैछ । नेपाल र अमेरिकाबीचको खेल पिरयल्यान्डको मुसा स्टेडियममा नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ ।
सिरिज अन्तर्गत नेपाल र अमेरिका दुबैले दोस्रो खेल खेल्दै छ । यसअघि पहिलो खेलमा अमेरिकाले ओमानलाई १ सय १४ रनले पराजित गरेको थियो । तर नेपालले भने ओमानसँगै १३ रनको पराजय भोग्यो ।
त्यसैले नेपाल आज पहिलो जितको खोजिमा हुनेछ । पहिलो खेलमा आशिफ शेख र कुशल भुर्तेलको कमी महसुस गरेको नेपालका लागि अमेरिकाविरुद्ध कुशल उपलब्ध हुने सम्भावना बलियो रहेको छ ।
नेपाली बलरले ओमानविरुद्ध उत्कृष्ट बलिङ गरेपनि खराब ब्याटिङका कारण खेल हार्न पुग्यो । ओमानविरुद्ध करण केसीले ५ विकेट हात पारेपनि त्यो नेपालको जितका लागि पर्याप्त भएन् । त्यसैले आजको खेलमा अमेरिकाविरुद्ध उत्कृष्ट बलिङलाई निरन्तरता दिदैँ ब्याटिङमा सुधारको आवश्यकता रहेको छ ।
अर्कोतर्फ घरेलु मैदानमा ओमानमाथि शानदार जित हात पार्दै अमेरिका उच्च मनोबलका साथ मैदानमा उत्रने छ । ओमानविरुद्ध घरेलु मैदानमा ३ सय २३ रन जोड्दा सुसान्त मोदानीले १ सय ११ तथा कप्तान मोनाक पटेलले १ सय ३० रनको उत्कृष्ट ब्याटिङ गरेका थिए । अमेरिकी बलर अली खानले पनि ५ विकेट लिएपछि ओमानको इनिङ्स सस्तैमा धराशायी बनेको थियो ।
त्यसैले नेपालले अमेरिकाविरुद्ध ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गर्नु आवश्यक छ ।
विगत हेर्ने हो भने नेपाल र अमेरिकाबीच ४ वटा एकदिवसीय खेल भएका छन् जसमा नेपालले ३ तथा अमेरिकाले केवल १ पटक जितेको छ । अन्तिम पटकको खेलमा भने अमेरिकाले नेपाललाई ६ विकेटले पराजित गरेको थियो ।
अर्कोतर्फ पछिल्ला समयमा भने घरेलु मैदानमा अमेरिका निकै उत्कृष्ट लयमा देखिन्छ । उसले बलियो मानिएका ओमानसँगै स्कटल्यान्ड र युएईविरुद्ध पनि जित हात पारिसकेको छ ।
यता नेपाल पहिलो पटक अमेरिकाको भ्रममा रहेको छ र उसले अमेरिकाको विकेटका साथै मौसम र अमेरिकी रणनीतिविरुद्ध उत्रनु पर्ने दवाव छ र त्यो दवाव कतिसम्म थेग्न सक्छ त्यो नतिजाले नै देखाउनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया