हारबाट बल्लतल्ल जोगियो नेपाल : के आदिललाई उत्कृष्ट अलराउन्डर पाएको हो ?
काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल र घरेलु टोली अमेरिकाबीचको खेल रोमाञ्चकरुपमा बराबरीमा टुंगियो । खेल बराबरीमा टुंगिए पनि सबैभन्दा बढी चर्चा भने नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका आदिल आलमको प्रदर्शन सम्झन लायक रह्यो ।
१८ वर्षीय युवा क्रिकेटर आदिलले डेब्यू खेलमै नेपालका लागि एक भरपर्दा अलराउन्डरको रुपमा आफूलाई उभ्याउन सफल भए । पियरल्यान्डमा टस जितेर ब्याटिङ गर्दै नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ७४ रन जोड्दा पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका आदिल आलमले आक्रामक व्याटिङ गर्दै २४ बलमै ३६ रनको योगदान गरे । उनी ३ चौका र २ छक्का प्रहार गर्न सफल भए ।
नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६२ रन, आशिफ शेखले ६१ रन तथा देव खनालले ५४ रनको योगदान गरे ।
अमेरिकाका लागि रस्टी थेरोनले सर्वाधिक ४, अली खान र सौरभ नेत्रभाल्करले समान २-२ तथा निसर्ग पटेल र यासिर मोहम्मदले समान १-१ विकेट हात पारे ।
२ सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले पनि निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७४ रनमै सिमित भएपछि दुवै टोलीले १-१ अंक बाड्न बाध्य भए । खेललाई बराबरीमा टुंग्याउन आदिलले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरे । अन्तिम ६ बलमा अमेरिकालाई ६ रनको आवश्यकता रहेको अवस्थामा आदिलले केवल ५ रनमात्र खर्चिए ।
अन्तिम ओभरको पाँचौ बलमा आदिलले आरोन जोन्सको महत्वपूर्ण विकेट लिनुका साथै अन्तिम बलमा राहुल जारिवाला रन आउट भएपछि नेपाल हारबाट जोगियो । खेलमा म्यान अफ द म्याच घोषित भएका आदिलले नेपालका लागि सर्वाधिक ३ विकेटसमेत लिए ।
अमेरिकाका लागि स्टेभेन टेलरले १ सय १४ रनको योगदान गर्दा कप्तान मोनांक पटेलले ८५ रन जोडेका थिए ।
आदिलको केवल एकदिवसीय डेब्यूमात्र सम्झन लायक छैन उनको घरेलु मैदान (त्रिवि) मा पपुवा न्यूगिनी (पीएनजी)विरुद्ध नेपालका लागि टी-ट्वान्टी अन्तर्राष्ट्रियमा गरेको डेब्यू पनि सम्झन लायक रहेको छ ।
उक्त खेलमा नेपालले पीएनजीलाई ३७ रनले पराजित गर्दा आदिलले विष्फोटक ब्याटिङ गर्दै केवल ११ बलमा ३१ रनको योगदान गर्दा १ चौका र ३ छक्का हिर्काएका थिए । उनले बलिङ गर्ने मौका भने पाएनन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया