महिला क्रिकेट टिम बुधबार मलेसिया जाँदै, मनिशा भने टिममा नहुने
काठमाडौँ – एसिसी महिला टी-ट्वान्टी च्याम्पियनसिपका नेपाली महिला क्रिकेट टिम बुधबार मलेसिया प्रस्थान गर्ने भएको छ । च्याम्पियनसिप मलेसियामा जुन १७ देखि २५ तारिखसम्म आयोजना हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले रुविना क्षेत्रीको कप्तानीमा १५ खेलाडीको नेपाली टिम घोषणा गरेपनि केवल १४ खेलाडी मलेसिया जाने भएका छन् । मनिशा उपाध्यायको एपेन्डिसेसटोमी भएका कारण उनी नेपाली टिमसँग जान नपाउने भएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बताए ।
च्याम्पियनसिपमा १० टिमको सहभागिता रहनेछ । च्याम्पियनसिपमा आयोजक मलेसियासहित नेपाल, बहराइन, भुटान, हङकङ, कुवेत, सिंगापुर, ओमान, कतार र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् ।
सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत नेपाल समूह ‘बी’ मा रहेको छ । नेपाल सम्मिलित समूहमा बहराइन, भुटान, हङकङ र कुवेत रहेका छन् । यस्तै समूह ‘ए’ मा मलेसिया, ओमान, कतार, सिंगापुर र युएई रहेका छन् ।
समूह चरणको खेलपछि दुबै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनलमा प्रवेश गर्ने दुई टोली अक्टोबरमा आयोजना हुने महिला टी–२० एसिया कपका लागि छनोट हुनेछन् ।
च्याम्पियनसिप अन्तर्गत नेपालले पहिलो खेल जुन १७ मा भुटानविरुद्ध, दोस्रो खेल कुवेतविरुद्ध जुन १८, तेस्रो खेल जुन २० मा बहराइनविरुद्ध तथा अन्तिम खेल जुन २१ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।
‘हामी एसिया कपमा छनोट हुनेछौँ’
यसैबीच, नेपाली टोलीकी कप्तान रुविना क्षेत्रीले नेपाल एसिया कपका लागि छनोट हुने विश्वास व्यक्त गरिन् । क्यानले मंगलबार आयोजना गरेको विदाई कार्यक्रममा रुविनाले नेपाली टोली छनोट भएर नेपाल फर्किने बताइन् ।
यता मुख्य प्रशिक्षक जगत टमाटाले च्याम्पियनसिप सजिलो नभएपनि नेपाली टोलीले कडा मेहनत गरेका कारण च्याम्पियन बनेर आउने विश्वास व्यक्त गरे ।
त्यसैगरी, क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले एसिया कपका लागि छनोट हुन नेपाल सक्षम भएको बताए । उनले नेपाली टोलीले एक ढिक्का भएर खेले एसिया कपका लागि छनोट हुने दावी गरे ।
यता राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङले पनि नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्नेमा आफू ढुक्क रहेको बताए ।
नेपाली टिमः
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया