क्रिकेट

घरेलु मैदानमै अमेरिकालाई पहिलो पटक पराजित गर्ने नेपालको लक्ष्य

इकागज |
असार १, २०७९ बुधबार १६:३४ बजे

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले घरेलु टोली अमेरिकाको सामना गर्दैछ । नेपाल र अमेरिकाबीचको एकदिवसीय खेल पियरल्यान्डमा नेपाली समय अनुसार आज राति ९:१५ बजे सुरु हुनेछ । 

सिरिजको अन्तिम खेल खेल्दा नेपालले अमेरिकाविरुद्ध उसैको मैदानमा पहिलो जितको खोजीमा हुनेछ । सिरिज अन्तर्गत यस अघि जुन ११ मा नेपाल र अमेरिकाबीच भएको खेल भने 'टाई' भएको थियो । नेपालले दिएको २ सय ७४ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाले पनि निर्धारित ५० ओभरमा २ सय ७४ रन नै बनाएपछि दुबै टोलीले एक-एक अंक बाडे । 


समग्रमा नेपाल र अमेरिकाबीच यस अघि ५ एकदिवसीय खेल भएका छन् । जसमा नेपालले तीन खेल जित्दा अमेरिकाले एक खेलमात्र जित्न सकेको छ । एक खेल भने बराबरीमा टुंगिएको छ । 

नेपालले अमेरिकालाई दुई पटक कीर्तिपुरस्थित त्रिवि मैदानमा पराजित गरेको छ भने एक पटक ओमानमा पराजित गरेको छ । यता अमेरिकाले भने एक पटक नेपाललाई पराजित गर्दा उक्त खेल ओमानमा भएको थियो ।

तर नेपाल भने अमेरिकालाई पहिलो पटक उसैको मैदानमा पराजित गर्दै अमेरिका भ्रमण अन्त्य गर्न चाहन्छ । अमेरिका भने नेपालको घरेलु मैदानमा भोगेको पराजयको बदला लिने दाउमा छ । 

जारी सिरिजमा भने नेपालले ओमानविरुद्ध एक खेल जित्दा एक खेलमा पराजय भोगेको थियो । 
 


Author

थप समाचार
x