यू-१५ क्रिकेटः प्रदेश १ र बागमतीको विजयी सुरुवात
काठमाडौँ - बलियो नेपाल अन्डर-१५ क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश १ र बागमती प्रदेशले जित हात पारेका छन् । काठमाण्डौँ स्थित मुलपानी मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो दिन प्रदेश १ ले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गर्यो ।
बर्षाका कारण १२ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरेको गण्डकी प्रदेशले ४१ रन मात्र जोड्न सक्यो । गण्डकी प्रदेशलाई सस्तैमा समेट्ने क्रममा प्रदेश १ का कृतिक कामतले ४ विकेट हात पारे । जवाफमा ४२ रनको लक्ष्य प्रदेश १ ले १०.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।
दोस्रो खेलमा बागमती प्रदेशले बलियो ११ माथि २२ रनको जित दर्ता गर्यो । १२ ओभरमा छोट्याइएको खेलमा टस जितेर ब्याटिङ्ग रोजेको बागमती प्रदेशले ६ विकेट गुमाएर १ सय ३५ रन जोडेको थियो । उसका लागि आकाश खत्रीले ३२ बलमा ५१ रन जोडे । बलियो ११ का जेनिश पुन मगरले सर्वाधिक ३ विकेट आफ्नो नाम गरे ।
जवाफमा १ सय ३६ रनको लक्ष्य पछ्याएको बलियो ११ ले १४.४ ओभरमा सबै विकेट गुमाउनु अघि १ सय १३ रन मात्र जोड्न सक्यो । बागमतीका रोमन विष्टले ४ विकेट प्राप्त गरे ।
प्रतियोगिताको उद्घाटन पुर्व कप्तान पारस खड्का, बलियो नेपाल न्युट्रिसन इनिसिएटिभका प्रमुख कार्यकारी अधिकृत अतुल उपाध्याय र बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्न्यातले गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया