के बटलरले भनेझै एकदिवसीयको एकै इनिङ्समा ५०० रन बन्न सम्भव छ ?
काठमाडौँ – इंग्ल्यान्ड क्रिकेट टिमका ब्याट्सम्यान जोस बटलरले एकदिवसीय अन्तर्राष्ट्रियमा खेलको एकै इनिङ्समा ५ सय रन बनाउने इंग्ल्यान्डको लक्ष्य जारी रहने बताएका छन् । नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक जित हात पारेपछि बटलरले इंग्ल्यान्ड ५ सय रन बनाउने लक्ष्य पछ्याइरहने बताएको बीबीसीले जनाएको छ ।
इंग्ल्यान्डले घरेलु टोली नेदरल्यान्ड्सविरुद्धको खेलमा ४ विकेट गुमाएर ४ सय ९८ रन बनाए पनि केवल २ रनले ५ सय रन जोड्नबाट चुक्यो । इंग्ल्यान्डले यस अघि अष्ट्रेलियाविरुद्ध सन् २०१८ मा ६ विकेट गुमाएर बनाएको ४ सय ८१ रन तथा ‘लिस्ट ए’ मा सर्रेले सन् २००७ मा ४ विकेट गुमाएर बनाएको ४ सय ९६ रनको योगफलको कीर्तिमानलाई पनि पछि पार्यो ।
इंग्ल्यान्डका लागि विकेटकिपर ब्याट्सम्यान बटलरले ७० बल खेल्दै अविजित १ सय ६२ रन जोडे, जसमा १४ छक्का र ७ चौका समावेश थियो । साथै डाविड मलनले १ सय २५ र फिल साल्टले १ सय २२ रन जोडेका थिए । इंग्ल्यान्डले समग्रमा २६ छक्का हिर्काएको थियो ।
५ सय रन पुरा गर्न अन्तिम २ बलमा १२ रनको आवश्यकता भए पनि २२ बलमा ६६ रनको योगदान गरेका लियाम लिभिङस्टोनले एक छक्का र एक चौका मात्र हिर्काउन सके ।
बटलरका अनुसार टिमका सम्पूर्ण सदस्य ५ सयको कीर्तिमानी योगफल तयार पार्ने लक्ष्यमा अग्रसर भए पनि कहिले उक्त लक्ष्य प्राप्त गर्न सकिने भन्ने अनिश्चित छ । तर उनले यो सानो मैदानमा सम्भव हुने विश्वास व्यक्त गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया