क्रिकेट

नामिबिया भर्सेस स्कटल्यान्डबाट नेपालले के सिक्न सक्छ ?

इकागज |
असार २७, २०७९ सोमबार ११:७ बजे

काठमाडौँ – नेपाली क्रिकेट टिम आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्यान्डमा छ । सिरिजमा घरेलु टोली स्कटल्यान्ड, नेपाल र नामिबियाबीच खेल हुँदैछ ।

सिरिज अन्तर्गत नेपालले आफ्नो पहिलो खेल आज नामिबियाविरुद्ध खेल्दैछ । नेपाल र नामिबियाबीचको खेल न्यू काम्बुसडुन ग्राउन्डमा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।


नेपालसँग खेल्नुअघि नामिबियाले आइतबार आफ्नो पहिलो खेलमा स्कटल्यान्डविरुद्ध खेलेको थियो । तर नामिबियाले उक्त खेल ७७ रनले हार्न पुग्यो ।

पहिलो खेलमा हार बेहोरेको नामिबिया भने नेपालविरुद्ध खेल्दा दवावमा हुनेछ र यसको फाइदा नेपालले उठाउन सक्नुपर्छ ।

तर त्यसका लागि आइतबार भएको नामिबिया र स्कटल्यान्डबीचको खेलको विश्लेषण भने गर्नुपर्ने हुन्छ ।

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले सुरुवातमा रनको गतिलाई कायमै राखि विकेट नगुमाउने योजनासहित अघि बढ्यो । उसले पहिलो विकेट १० औँ ओभरको चौथों बलमा गुमाउँदा ५८ रन जोडिसकेको थियो ।

त्यसपछि नामिबियाले १५ ओभरभित्रै थप दुई विकेट लिएर स्कटल्यान्डलाई दवावमा राख्ने प्रयास गरेपछि स्कटल्यान्डका मिडल-अर्डरका ब्याट्सम्यान जर्ज मुन्सी (७१) र तेस्रो नम्बरका ब्याट्सम्यान कालुम माइकलियोड (५०) ले धैर्यतापूर्वक ब्याटिङ गरे जसका कारण रन पनि बन्यो तथा नामिबियाका बलर दवावमा परे ।

त्यसैले नेपालले नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्ने अवस्थामा सुरुवातमा विकेट पतन रोक्दै रनको गतिलाई निरन्तरता दिनु आवश्यक देखिन्छ । ठूला ‘शट’ प्रहार गर्नुभन्दा पनि ‘स्ट्राइक रोटेट’ गर्नु उपयुक्त हुन सक्छ । त्यसपछि मध्यक्रम तथा पुछारका ब्याट्सम्यानले आक्रमक पारीका लागि तयार हुनुपर्छ ।

लिग-२ मा सबैभन्दा बलियो देखिएको स्कटल्यान्डले २ सय ५९ रनको लक्ष्य दिएपछि नामिबिया ब्याटिङ गर्न आउनु अघि नै दवावमा परिसकेको थियो । जसको फाइदा स्कटल्यान्डका बलरले उठाए ।

एकातर्फी स्कटल्यान्डले ब्याटिङ गर्दा विकेट बचाउनेतर्फ अग्रसर देखिएको थियो भने अर्कोतर्फ नामिबियाले सुरुवातको सातौं ओभरभित्रै ३ विकेट गुमाएर आफूलाई दवावमा पारेको थियो । मध्यक्रमका ब्याट्सम्यानले इनिङ्स उकास्ने प्रयास गरेपनि स्कटल्यान्डका बलरले घरेलु मैदानको फाइदा समेत उठाए ।

त्यसैले नेपाली बलरले नामिबियाको शीर्षक्रमका ब्याट्सम्यानको विकेट छिटो भन्दा छिटो झार्दै मध्यक्रमका ब्याट्सम्यानमाथि दवाव दिन सक्नुपर्छ ।


Author

थप समाचार
x