क्रिकेट लिग-२: नेपालको अस्थिर ‘ओपनर्स’
काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोली अहिले स्कटल्यान्डमा छ । स्कटल्यान्डमा नेपालले अब दुई खेल खेल्न बाँकी छ । सिरिज अन्तर्गतको तेस्रो खेल नेपालले शनिबार नामिबिया र चौथों खेल स्कटल्यान्डविरुद्ध आइतबार खेल्नेछ ।
समग्रमा लिग-२ अन्तर्गत नेपालले ३६ मध्ये १८ खेल खेलिसकेको छ । नेपालले अब १८ खेल मात्र खेल्न बाँकी छ । खेलेका १८ खेलमध्ये ८ मा जित हात पार्दा नेपालले ९ मा पराजय भागेको छ । १ खेल बराबरीमा टुंगिएको छ ।
खेल जित्दा नै १ देखि ११४ रनसम्मको साझेदारी
लिग-२ अन्तर्गत नेपालको ‘ओपनिङ’ अस्थिर रहँदै आएको छ । ओपनिङ ब्याट्सम्यान (सुरुवातमा ब्याटिङ गर्ने ब्याट्सम्यान) ले कहिले १ रनको साझेदारी गरेका छन् भने कहिले १ सय १४ रनसम्मको साझेदारी गरेका छन् ।
कुनै बेला ओपनिङ ब्याट्सम्यानले केवल १ रनको साझेदारी गर्दा पनि नेपालले जित हात पारेको छ । त्यसैगरी कुनै खेलमा १ सय १४ रनको साझेदारी गरेर नेपाललाई जित दिलाएका छन् ।
नेपालले स्कटल्यान्डलाई १ पटक, ओमानलाई २ पटक, पपुवा न्युगिनी (पीएनजी) लाई २ पटक तथा अमेरिकालाई ३ पटक पराजित गरेको छ ।
नेपालले पहिलो पटक पीएनजीलाई २ विकेटले पराजित गर्दा कुशल भुर्तेल (१ रन) र आशिफ शेख (१६ रन) ले १ रनको साझेदारी गरेका थिए । त्यसैगरी, अमेरिकालाई ८ विकेटले पराजित गर्दा ज्ञानेन्द्र मल्ल (१) र सुवाश खकुरेल (०) ले १ रनको साझेदारी गरेका थिए । अमेरिकालाई नै ३५ रनले पराजित गर्दा सुवास (३) र ज्ञानेन्द्र (२१) ले ६ रनको साझेदारी गरे ।
त्यसैगरी, पीएनजीलाई नै ७ विकेटले पराजित गर्दा कुशल (५०) र आशिफ (२) ले पहिलो विकेटका लागि १० रनको मात्र साझेदारी गरे । ओमानलाई पहिलो पटक ७ विकेटले पराजित गर्दा कुशल (६) र आशिफ (४०) ले १६ रनको साझेदारी गरे ।
स्कटल्यान्डलाई उसैको घरेलु मैदानमा नेपालले ५ विकेटले पराजित गर्दा कुशल भुर्तेल (२७) र आशिफ शेख (७१) ले ४७ रनको साझेदारी गरेका थिए । अमेरिकालाई ५ विकेटले पराजित गर्दा कुशल (८४) र आशिफ (२३) ले ६६ रनको साझेदारी गरे ।
ओमानलाई अन्तिम पटक अमेरिकामा ७ विकेटले पराजित गर्दा कुशल (५६) र आशिफ (६२) ले १ सय १४ रनको साझेदारी गरे ।
खेल हार्दा ४, ५, ६ देखि ४८ रनसम्मको साझेदारी
लिग-२ मा नेपालले ओमानसँग ४ पटक, अमेरिकासँग २ पटक युएईसँग २ र नामिबियासँग १ पटक पराजित भएको छ । खेल हार्दा नेपाली ओपनर्सले सबैभन्दा कम ५ रन तथा सबैभन्दा धेरै ४८ रनको साझेदारी गरेका छन् ।
लिग-२ अन्तर्गत पहिलो खेलमा ओमानसँग नेपाल १८ रनले पराजित हुँदा पारस खड्का (३) र ज्ञानेन्द्र मल्ल (१) बीच ४ रनको साझेदारी भएको थियो । अमेरिकासँग ६ विकेटले पराजित हुँदा कुशल (३६) र आशिफ (३) ले ५ रनको साझेदारी गर्दा युएईसँग ९९ रनले हार्दा पवन सर्राफ (२) र कुशल (५) ले ६ रनको मात्र साझेदारी गरे ।
त्यसैगरी, ओमानले नेपाललाई १३ रनले पराजित गर्दा सुनिल धमला (१२) र सुवाश खकुरेल (३) ले ७ रनको साझेदारी मात्र गरेका थिए । त्यसैगरी, अमेरिकासँग ३९ रनले पराजित हुँदा कुशल (१०) र आशिफ (१८) ले १७ रनको साझेदारी गरे ।
युएईसँग ४८ रनले पराजित हुँदा कुशल (११) र आशिफ (७) ले १८ रनको साझेदारी गर्दा नामिबियाले नेपाललाई ४० रनले हराउँदा कुशल (२७) र आशिफ (१४) ले नै ३० रनको साझेदारी गरेका थिए ।
ओमानसँग ८ विकेटले पराजित हुँदा सुवास (२२) र ज्ञानेन्द्र (५६) ले ४८ रनको साझेदारी गरेका थिए ।
खेल ‘टाइ’ हुँदा ५६ रनको साझेदारी
अमेरिका र नेपालबीचको खेल २ सय ७४ रनमा ‘टाइ’ हुँदा कुशल (१९) र आशिफ (६१) ले ५६ रनको साझेदारी गरेका थिए ।
खासमा नेपालले खेल जित्दा होस वा हार्दा होस नेपालको ओपनिङ सधै अस्थिर रहदै आएको छ । जसका कारण नेपाली टिम जहिले पनि दवावमा पर्ने गरेको छ । नेपालले खेल जित्दा अधिकांश समय बलिङमा भर पर्नुपर्ने अवस्था रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया