राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक नियुक्ति कहिले ?
काठमाडौँ– साउन ४ गते पुबुदु दासानायके नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकबाट राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान) अहिले नयाँ प्रशिक्षकको खोजीमा रहेको छ ।
क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पनि क्यान प्रशिक्षकको खोजीमा रहेको बताएका छन् । मल्लका अनुसार क्यानले विदेशी प्रशिक्षकहरूसँग सम्पर्क गरिरहेको र राम्रो प्रशिक्षक छिट्टै नियुक्त गरिने छ ।
प्रशिक्षक नियुक्तका लागि आन्तरिक प्रक्रियाबाट अगाडि बढेको र कठिन अवस्थामा रहेको नेपाली क्रिकेट सम्हाल्न सक्ने प्रशिक्षकको खोजीमा क्यान रहेको मल्लले बताए । क्यानको सम्पर्कमा विश्वका नाम चलेका प्रशिक्षक पनि रहेको उनले जानकारी गराए ।
‘आन्तरिक प्रक्रियाबाट पनि प्रशिक्षक नियुक्त गर्न सकिन्छ । सूचना ननिकालेर पनि प्रशिक्षक ल्याउन सकिन्छ । हामीले खोज्ने भनेको उत्कृष्ट प्रशिक्षक हो । जसले नेपाली क्रिकेटलाई राम्रोसँग सम्हाल्न सकोस् । टोलीमा प्रदर्शनको आधारमा केही कठिनाइ पनि छन्, त्यसलाई समाधान गर्ने प्रशिक्षकको खोजिमा छौं । अहिले हामीसँग विश्वका नाम चलेको प्रशिक्षक पनि छन् । हामीलाई काम गर्नसक्ने, टोलीलाई अगाडि बढाउन सक्ने, टोलीलाई लामो समय दिनसक्ने प्रशिक्षक खाँचो छ । छिट्टै नयाँ प्रशिक्षक नेपाली क्रिकेटले पाउँदैछ । शुभसमाचार नेपाल क्रिकेटले छिट्टै पाउँछ,’ उनले भने।
दोस्रो कार्यकालका लागि आएका दासानायकेले ७ महिनाभित्रै राजीनामा दिएपछि नेपाली पुरुष टिम अहिले प्रशिक्षकविहीन रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया