क्रिकेट

नवौँ राष्ट्रिय खेलकुदः क्रिकेट भदौ २२ देखि गर्ने प्रस्ताव

इकागज |
भदौ ५, २०७९ आइतबार १२:५५ बजे

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुषतर्फको क्रिकेट प्रतियोगिता भदौ २२ देखि २९ गतेसम्म आयोजना गर्ने प्रस्ताव राष्ट्रिय खेलकुद परिषद् (राखेप) समक्ष गरेको छ । 

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने तालिका रहेको छ । साथै क्यानले नेपाल टी-ट्वान्टी लिग असोज ८ देखि कात्तिक ५ सम्म संचालन गर्ने तालिका पनि सार्वजनिक गरिसकेको छ । 


राष्ट्रिय खेलकुद तथा लिग जुध्ने भएपछि क्यानले राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको पुरुषतर्फको क्रिकेट प्रतियोगिता भने भदौमै आयोजना गर्ने भएको छ । 

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले राष्ट्रिय खेलकुद अन्तर्गतको प्रतियोगिता टी-ट्वान्टी फर्म्याटमा त्रिवि क्रिकेट मैदानमा आयोजना गर्नेगरी क्यानले राखेपसमक्ष प्रस्ताव राखेको बताए । 

‘प्रकिया अगाडी बढेको छ, एक-दुई दिनभित्रै राखेपबाट निर्णय आउने सम्भावना रहेको छ,’ मल्लले इकागजलाई बताए । मल्लका अनुसार प्रतियोगितामा ११ वटै टिमको सहभागिता रहनेछ । 

प्रतियोगिता भने नेपालको केन्या भ्रमणपछि हुनेछ । नेपाली टिम पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज तथा तीन खेलको एकदिवसीय सिरिजका लागि भदौ ७ मा केन्या प्रस्थान गर्ने तालिका छ । केन्या भ्रमण अन्तर्गतको अन्तिम खेल भदौ १४ मा हुनेछ । 
 


Author

थप समाचार
x