क्रिकेट

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र

इकागज |
भदौ ९, २०७९ बिहीबार १७:३४ बजे

काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारेको छ ।​

प्रतियोगिता सुरू हुन ५० दिन मात्र बाँकी रहँदा राखेपले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै बिभिन्न तयारीहरू तीव्र रूपमा अघि बढेको जनाएको हो । प्रतियोगिताका लागि ३६ वटा खेलका खेलाडी कोटा र खेल इभेन्ट्स स्वीकृत गरिएको छ भने स्वर्ण ३९३, रजत : ३९३ र कास्य ६०० रहने राखेपले जनाएको छ ।


त्यस्तै प्रतियोगिताका लागि ६० करोडको बजेट सुनिश्चित भएको र पहिलो किस्ता वापत १० करोड निकासा भइसकेको राखेप सदस्य सचिव टंकलाल घिसिङले बताए । उनले उपसमितिहरूको कार्यविधि तथा कार्यतालिका बनाई काम प्रारम्भ गरिएको जानकारी दिए । 

खेल सामग्री लगायत खरिदका लागि लागत अनुमान कमिटी गठन भई कार्य सुरू भएको, प्रचार प्रसारको काम सुरू भएको उनले बताए । खेल सामग्री, खेल पोशाक, किङ्स ब्याग खरिदका लागि अनलाईन टेण्डर सूचना गरिसकिएको, राष्ट्रिय ट्रफी विजेता ट्रफी र मेडलको नमूना संकलन कार्य भई खरिद प्रक्रिया अगाडि बढिसकेको र उद्घाटन तथा समापन समारोहका लागि उपसमितिबाट खरिद प्रकृया सुरू भएको घिसिङले बताए ।

खेलाडी तथा अफिसियलको बसोवासका लागि पोखरामा होटलका संख्या यकिन गरी व्यवस्थापनको काम भइरहेको,  प्रतियोगिता अवधिमा आवश्यक पर्ने सवारी साधनको संख्या यकिन,दररेट निर्धारण गरि बोलपत्र आव्हान भएको राखेपले जनाएको छ ।


Author

थप समाचार
x