क्रिकेट

सिप्यानको क्रिकेट अवार्ड भदौ अन्तिम साता

इकागज |
भदौ ९, २०७९ बिहीबार २०:२४ बजे

फाइल फोटो

काठमाडौँ - क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले आयोजना गर्दै आएको क्रिकेट अवार्ड भदौ २४ गते हुने भएको छ । 

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सिप्यानले अवार्ड कार्यक्रमको मिति घोषणा गरेको हो । भदौ २४ गते काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर पाँच विधामा अवार्ड वितरण गरिने सिप्यानले जनाएको छ । 


शिक्षण संस्था एनसीसीएस ग्रुपको मुख्य प्रायोजक रहेको अवार्डमा वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष उदयीमान क्रिकेट खेलाडी, वर्ष उत्कृष्ट क्षण र विशेष अवार्ड गरी ५ विधामा पुरस्कार वितरण गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

वर्ष पुरुष खेलाडी र महिला खेलाडीले अवार्डसहित जनही १ लाख ३२ हजार रुपैयाँ, वर्ष उदयमान खेलाडीले ६६ हजार, वर्ष उत्कृष्ट क्षणले भोटिङका आधारमा ६६ हजार र विशेष अवार्ड विजेताले १ लाख ३२ हजार रुपैयाँ प्राप्त गर्ने जानकारी दिइयो । 

अवार्डका लागि पाँच सदस्यीय प्राविधिक समिति गठन गरेर तोकिएको मापदण्डाका आधारमा खेलाडी छनोट गरिने सिप्यानका अध्यक्ष मनिषराज पाण्डेले जानकारी दिए । कोभिडपछि अहिलेसम्मको क्षणलाई मूल्याङ्कन  वर्ष उत्कृष्ट क्षणको छनोट गरिने सिप्यानले जनाएको छ । जसका लागि भोटिङ हुनेछ । 
 


Author

थप समाचार
x