भारत-पाकिस्तानको खेल सधैँ किन चर्चामा हुन्छ ?
काठमाडौँ- युएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुँदैछ । समूह ‘ए’ अन्तर्गत रहेका भारत र पाकिस्तानबीचको खेल दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा हुनेछ ।
भारत र पाकिस्तानबीचको खेलको चर्चा भने प्रतियोगिता हुनुभन्दा महिनौ अघिदेखि सुरु हुन्छ र पक्ष र विपक्षमा चर्चा निरन्तर चलिरहन्छ ।
अझ भारतीय संचार माध्यमहरुमा भारत र पाकिस्तानबीचको खेललाई लिएर दिनहुँजसो समाचार आइरहन्छ । पछिल्लो समय भारत र पाकिस्तानबीचको खेल भने आईसीसी टी-ट्वान्टी विश्वकप अन्तर्गत गत वर्ष अक्टोबर २४ मा भएको थियो । जसमा पाकिस्तानले भारतलाई १० विकेटले पराजित गरेको थियो । उक्त खेलको चर्चा अझैसम्म पनि चलिनै रहेको छ ।
तर पाकिस्तान र भारतबीच हुने खेलको चर्चा किन यति धेरै ?
खासमा राजनीतिक कारणले भारत र पाकिस्तानबीच सन् २०१३ देखि नै कुनै पनि सिरिज हुन सकेको छैन । सन् २०१३ को जनवरी ६ मा भारत र पाकिस्तानबीच तीन खेलको एकदिवसीय सिरिजको अन्तिम खेल दिल्लीमा भएको थियो । त्यसपछि भने दुई देशबीच सिरिज हुन सकेको छैन ।
तर यी दुई देशबीच आईसीसी तथा एसीसीले आयोजना गर्ने प्रतियोगिताहरूमा मात्र भेट हुने गरेको छ । जसका कारण उक्त खेलको चर्चा अन्य खेलको तुलनामा सबै भन्दा बढी हुने गरेको छ ।
एसिया कपमा भने भारत र पाकिस्तानबीच १३ पटक भेट हुँदा ८ पटक भारत र ५ पटक पाकिस्तानले जित निकालेका छन् । तर पछिल्ला ६ मध्ये ५ खेल भारतले जितेको छ ।
टी-ट्वान्टी अन्तर्राष्ट्रियमा भने भारत र पाकिस्तानबीच ९ वटा खेल भएका छन्, जसमध्ये ७ खेल भारतले जितेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया