क्रिकेट

केन्यासँग नेपाल चार विकेटले विजयी

इकागज |
भदौ १२, २०७९ आइतबार २०:५९ बजे

काठमाडौँ - घरेलु टोली केन्याविरुद्धको पाँच खेलको ट्वान्टी–२० शृंखला अन्तर्गत तेस्रो ट्वान्टी–२० खेलमा नेपालले आइतबार ४ विकेटको जित निकालेको छ । 

ट्वान्टी २० र एकदिवसीय शृंखलाका लागि केन्या भ्रमणमा रहेको भ्रमणकारी टोली नेपालले तेस्रो खेलमा ४ विकेट जित निकाल्दा शृंखलामा २–१ को अग्रता लिएको छ । 


केन्याको राजधानी नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले निर्धारित २० ओभर सकिन ३ बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि राष्ट्रिय टोलीमा पुनरागमन गरेको अनुभवी ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए ।

ज्ञानेन्द्रले ४१ बलमा चार चौका र एक छक्का प्रहार गरे । ज्ञानेन्द्र म्यान अफ दि म्याच चुनिए । यस्तै डेब्युट्यान्ट अर्जुन साउदले ३१ बलमा दुई चौका र तीन छक्काको सहयोगमा व्यक्तिगत ३५ रनको पारी खेल्दा रोहित पौडेलले १८ बलमा तीन चौका र एक छक्कासहित २९ रन बनाउँदै पवेलियन फर्किए । 

ओपनर पवन सर्राफले १२ बलमा तीन चौका र एक छक्कासहित २० रन जोड्दा दिपेन्द्र सिंह ऐरीले सम्झनलायक ब्याटिङ गर्न सकेनन् । केन्याका भिराज पटेल र इयुगेने ओचिएन्गले समान दुई विकेट लिँदा कोलिन्स ओबुयाले एक विकेट लिए ।

यसअघि टस जितेपछि ब्याटिङमा आएको केन्याले रकिप पटेल र इर्फान करिमको अर्धसतकीय पारीको सहयोगमा पुरै ओभर खेलेर १ सय ५६ रन जोड्न सफल भएको थियो । अर्धसतक बनाउने क्रममा केन्याका रकिप पटेलले ४३ बलमा ७३ रनको पारी खेल्दा इर्फान करिमले ४७ बलमा ५५ रन र  कोलिन्स ओबुयाले १४ रन बनाए । दुई विकेट निकाल्ने क्रममा नेपालका आदिल अन्सारी र सोमपाल कामीको नाममा एक÷एक विकेट रह्यो ।

शृंखलामा चौथो ट्वान्टी–२० खेल सोमबार हुनेछ । पाँच खेलको ट्वान्टी–२० शृंखला पछि नेपालले केन्यासँग तीन एक दिवसीय खेल खेल्ने तालिका रहेको छ ।


Author

थप समाचार
x