क्रिकेट

पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइयो

इकागज |
भदौ १३, २०७९ सोमबार १९:४८ बजे

फाइल तस्बिर

काठमाडौँ- अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार पत्रकार सम्मेलन गर्दै विश्वकप ट्रफी नेपाल आइपुगेको जानकारी गराएको हो । क्यानका जेनेरल म्यानेजर वृतान्त खनालले ट्रफीको प्रदर्शनी (भोलि) मंगलबारबाट गरिने जानकारी गराए । खनालले ट्रफी बुधबार भक्तपुर दरबार स्क्वायरमा ११ः३० बजेबाट प्रदर्शनीमा राखिने जानकारी गराए ।


त्यस्तै ट्रफी भोलि सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने छ । बिहान ७ः३० बजे सगरमाथाको फेदमा रहेको गोक्यो तालमा प्रदर्शनी गरिने क्यानले जनाएको छ । ट्रफी भ्रमणमा नेपालका पूर्व खेलाडी महेबुब आलम सहभागी हुनेछन् ।

क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याइएको हो ।

यसअघि सन् २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो । टी–ट्वान्टी विश्वकपको ट्रफी भने पहिलो पटक नेपाल ल्याइएको छ । विश्वकपको ट्रफी दुई दिन नेपालमा रहने क्यानले जानकारी गराएको छ । विश्वकपको १०० दिने ट्रफी भ्रमण अन्तर्गत ट्रफी नेपाल ल्याइएको हो ।

ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शन गरिँदैछ । विश्वकपको ट्रफी निशान कम्पनिले विश्वभर प्रदर्शन गरिरहेको हो । अस्ट्रेलियाको ७ शहरमा आयोजना हुने विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ । विश्वकपमा १६ राष्ट्रले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।


 


Author

थप समाचार
x