क्रिकेट

आसिफको शतकीय पारीमा नेपालको सहज जित

इकागज |
भदौ १७, २०७९ शुक्रबार १९:४६ बजे

काठमाडौँ- ओपनर आसिफ शेखको शतक प्रेरित नेपालले घरेलु टोली केन्यासँगको पहिलो एकदिवसीय खेलमा सात विकेटको सहज जित निकालेको छ ।

नौरबीस्थित जिमखाना क्रिकेट मैदान केन्याले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको नेपालले ४७.२ ओभरमा तीन विकेट गुमाएर भेट्टायो । योसँगै नेपालले तीन एक दिवसीय श्रृंखलामा १–० को अग्रता लिएको छ । नेपालको जितमा ओपनर आसिफले शतकीय इनिङ खेले । आसिफले एक सय २० बलमा १२ चौका र दुई छक्कासहित एक सय १० रन बनाउने क्रममा बोल्ड हुन पुगेका थिए ।


यसअघि अर्का ओपनर अर्जुन साउदले व्यक्तिगत ६१ रनको साथ दिएका थिए । अर्जुनले ९७ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । यसबाहेक, ज्ञानेन्द्र मल्लले २४ रन बनाउँदा दीपेन्द्रसिंह ऐरी १५ र कप्तान रोहितकुमार पौडेल तीन रनमा अविजित रहे । केन्याका रकिब, कोलिन्स र विशिल पटेलले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले ४८.१ ओभरमा सबै विकेट गुमाएर २ सय १८ रन जोड्न सफल भएको थियो । केन्याका रकिब पटेल ६७ र कोलिन्स ओबुयाले ६२ रन अर्धशतकीय इनिङ खेलेका थिए । घरेलु टिमका इर्फान करिमले ३० रन सचिन भुडियाले २६ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

केन्याको इनिङलाई रोक्ने क्रममा नेपालका सोमपाल कामी र करण केसीले समान तीन/तीन विकेट लिए । यसबाहेक, आदिल अन्सारी र पवन सर्राफले एक–एक विकेट आफ्नो नाममा लेखाए । दोस्रो खेल शनिबार हुनेछ । यसअघिको पाँच खेलको ट्वान्टी–२० श्रृंखला नेपालले ३–२ आफ्नो पक्षमा बनाएको थियो । 


Author

थप समाचार
x