डिसेम्बरमा नेपाल टी-ट्वान्टी लिग सम्भव छ ?
काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले गृहमन्त्रालयको निर्देशनअनुसार असोज ८ अर्थात् यही शनिबारबाट कात्तिक ५ गतेसम्म हुने भनिएको नेपाल टी-ट्वान्टी लिग तत्कालका लागि स्थगित गर्यो ।
क्यानले जनाएअनुसार लिग अब डिसेम्बर ११ देखि ३१ तारिखसम्म आयोजनाका लागि प्रस्ताव गरिएको छ । करिब एक महिना चल्ने लिगमा ६ टिमको सहभागिता रहने सुनिश्चित भइसकेको छ । साथै नेपाली तथा विदेशी खेलाडीका लागि अक्सनसमेत भइसकेको छ ।
तर आईसीसीको खेल तालिका तथा नेपालले सहभागिता जनाउने आईसीसी क्रिकेट विश्वकप लिग-२ को तालिका हेर्दा क्यानले डिसेम्बरमा लिग आयोजना गर्न सक्ने सम्भावना न्यून देखिन्छ ।
लिग-२ मा नेपालले अझै ४ वटा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्न बाँकी छ । नेपालले नामिविया र स्कटल्यान्ड सम्मीलत एउटा सिरिज खेल्न बाँकी छ । यो सिरिज नोभेम्बर-डिसेम्बरमा हुने सम्भावना रहेको छ । किनभने त्यसअघि दुवै नामिविया र स्कटल्यान्ड अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकपमा सहभागिता जनाउँदैछ ।
डिसेम्बर-जनवरीमा नेपालले लिग-२ का अर्को दुई सिरिज खेल्नुपर्ने हुन्छ । दुवै सिरिजमा युएई र पपुवा न्यूगिनी रहनेछन् । युएई पनि टी-ट्वान्टी विश्वकप खेल्दैछ ।
लिग-२ अन्तर्गतको अन्तिम सिरिज नेपालले आगामी फेब्रुअरीमा खेलिसक्नुपर्नेछ । उक्त सिरिज नेपालले नामिविया र स्कटल्यान्डविरुद्ध खेल्नेछ । सो सिरिजपछि सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपका लागि आईसीसी क्रिकेट विश्वकप छनोट प्ले-अफ तथा विश्वकप छनोट आयोजना हुने तालिका रहेका छन् ।
लिग-२ अन्तर्गत नेपालले ४ त्रिकोणात्मक सिरिजमा १६ खेल खेल्नुपर्नेछ । अहिलेको अवस्थामा नेपालले २० खेलबाट १७ अंक जोड्दै सात टिममध्ये छैटौँ स्थानमा छ । २४ खेल खेलेको पपुवा न्यूगिनीमात्र २४ खेलबाट ५ अंक जोड्दै नेपाल भन्दा तल छ ।
यता ३६ खेलबाट ४४ अंक जोडेको ओमान शीर्ष स्थानमा हुँदा २८ खेलबाट ४० अंक जोडेको स्कटल्यान्ड दोस्रो तथा ३२ खेलबाट २९ अंक जोडेको अमेरिका तेस्रो स्थानमा छन् । २६ खेलबाट २७ अंकसहित युएई चौथोँ तथा २२ खेलबाट २६ अंक जोडेको नामिविया पाँचौँ स्थानमा छन् ।
आईसीसीले जनाए अनुसार लिग-२ मा शीर्ष तीनमा रहने टिमले सिधैँ विश्वकप छनोट खेल्नेछन् भने पुछारका चार टिमले छनोटका लागि प्ले-अफ खेल्नुपर्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया