क्रिकेट

महिला क्रिकेटः पुलिसलाई डेब्युमै 'गोल्ड'

सञ्जीव शाह |
कात्तिक १, २०७९ मंगलबार १७:१ बजे

पोखरा- नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । मंगलबार पोखरास्थित क्रिकेट मैदानमा भएको फाइनलमा नेपाल एपीएफ क्लबलाई ५ रनले पराजित गर्दै पुलिसले डेब्यु प्रतियोगितामै स्वर्ण जितेको हो । पुलिसले पहिलो पटक राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको थियो । 

पुलिसले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफ निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८४ रनमात्र जोड्न सक्यो । एपीएफका लागि रोमा थापाले १९ बलमा सर्वाधिक २६ रन जोडिन् । रोमा रन आउट भएपछि खेलमा पुलिस हावी भएको थियो ।


पुलिसका लागि इश्वरी विष्टले सर्वाधिक २ विकेट हात पारिन् । कप्तान रुविना क्षेत्री, संगीता राई र हिरनमायी रोयले एक-एक विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पुलिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८९ रन जोड्यो । पुलिसका लागि काजल श्रेष्ठले सर्वाधिक २७ तथा सम्झना खड्काले २१ रनको योगदान गरे ।

एपीएफकी नेरी थापा, इन्दु बर्मा र सिता राना मगरले एक-एक विकेट हात पारे ।

'ठूलो टिमलाई ठूलै टिमले हराएर प्रतियोगिता जितेको हो । खेलाडीहरुले स्वर्ण नै जित्छन् भन्ने विश्वास थियो,' पुलिसका प्रशिक्षक मन्जित श्रेष्ठले प्रतिक्रिया दिए । मन्जितका अनुसार बलियो बलिङका कारण पुलिसले एपीएफविरुद्ध जित हात पारेको हो । 'टार्गेट कम दिएपनि बलिङ राम्रो भयो ।'

पुलिसकी कप्तान रुविना क्षेत्रीले पुलिसले क्लब निर्माण गरेपछि टिममाथि एकदमै दवाव रहेको बताइन् । तर युवा खेलाडी भएपनि कडा तयारी गरिएको र टिममाथि विश्वास रहेको उनले थपिन् ।

'दशैलाई विर्सेर तयारी गरिएको थियो । अहिले स्वर्ण जित्दा त्यो सबै दुखलाई विर्साएको छ,' रुविनाले बताइन् । तर रुविनाले एपीएफलाई दिएको लक्ष्य भने पर्याप्त नभएको दावी गरिन् ।

'तर बलिङ हाम्रो एकदमै बलियो हो । र त्यो देखियो पनि,' रुविनाले बताइन् ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x