क्रिकेट

प्रधानमन्त्री कप क्रिकेटः एपीएफ सेमिफाइनलमा

इकागज |
कात्तिक १९, २०७९ शनिबार १८:५ बजे

काठमाडौं–कर्णाली प्रदेशमाथि ४४ रनको जित निकाल्दै विभागीय टोली एपीएफ काठमाडौंमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा शनिवार भएको खेलमा एपीएफले कर्णालीलाई ४४ रनले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । एपीएफले दिएको २ सय ३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४८ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ९० रन मात्र बनाउन सक्यो । 


कर्णालीका लागि रविन्द्र  शाहीले ८० रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै विपिन शाहीले ३४ रन जोड्दा अर्जुन घर्तीले २४ तथा दिनेश अधिकारीले २० रन बनाए । एपीएफका मौसम ढकालले ४ विकेट लिए । कमल ऐरी र भुवन कार्कीले २÷२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले आसिफ शेखको शतकीय पारीको सहयोगमा ४७ ओभर २ बलमा अलआउट हुँदै २ सय ३४ रन बनाएको थियो । एपीएफका लागि आसिफ शेखले १ सय ३० रनको शतकीय इनिङ खेले । १ सय ३६ बलको सामना गरेका आसिफले १५ चौका र एक छक्का प्रहार गरेका थिए । 

यस्तै भुवन कार्कीले २३ रन जोड्दा प्रदीप ऐरीले २० रन बनाए । लोकेश बम र दीपक बोहराले १०÷१० रन बनाए । कर्णालीका दीपेन्द्र रावत र प्रकाश जैसीले ३÷३ विकेट लिए । दिवन पुनले २ विकेट लिए । यस जितसँगै एपीएफले ४ खेलमा ७ अंक जोडेर अन्तिम चारमा स्थान पक्का गरेको हो । एपीएफ शीर्ष स्थानमा रहेको छ । कर्णालीले भने लगातार दोस्रो हार भोगेको छ ।
 


Author

थप समाचार
x